घनश्याम भर, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको ज्ञानपुञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौँ साधारण सभा गुगौलीमा शनिवार सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले समूहबाट मात्र महिलाले महिला सशक्तिकरण गर्न सक्ने बताउनु भयो । यस संस्थाले महिला सशक्तिकरणमा निकै राम्रो भूमिका निर्वाह गर्दै आएको चौधरीले बताउनुभयो । महिलाहरुको आयआर्जन, उत्थान हुने खालको व्यवसायिक पेशामा संलग्न गराउँदै जानुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाबाट सहकारीलार्ई आवश्यक सहयोग गर्दै जानुको साथै महिलाहरुको मागलाई पुरा गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।
२ नं. का वडाध्यक्ष नेपाल चौधरीले सहकारी संस्था एउटा बैँक हो भन्दै यसमा नियमित बचत गर्दै जानुपर्नेमा जोड दिनुभयो । यसले महिलाहरु आर्थिक रुपमा सबल हुनुको साथै व्यवसायिक रुपमा लगानी गर्न सके स्वरोजगारमुखी हुने बताउनु भयो । “कुनै पनि व्यापार –व्यवसाय गर्न चिन्ता होइन, चिन्तन गर्नुपछ, अनि मात्र सफल हुन सक्छौ” अध्यक्ष चौधरीले भन्नुभयो । यसरी बचतलाई निरन्तरता दिनाले महिलाको उत्थानमा सहयोग पुग्दै जाने उहाँले बताउनुभयो ।
यस्तै नेवलागञ्ज आधाभूत विद्यालयका शिक्षक उत्तम बहादुर कोरीले यस सहकारी संस्थाले विजयनगर गाउँपालिका मै महिलाहरुको विकासका लागि सराहनीय कार्य गर्दै गएको बताउनुभयो । यस संस्थाले महिलाहरुलई विभिन्न व्यवसायिक, सीपमूलक र जनचेतना जागृत गर्ने खालको कार्यक्रमहरु गर्दै आएकाले सामाजिक विकासमा अहम भूमिका खेल्न सकेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।
ज्ञानपुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाकी सदस्य नानुमाया पौडेले यस सहकारीमा सबै शेयर सदस्यहरुलाई अनिवार्य रुपमा बचत गर्न अनुरोध गर्नु भएको थियो ।
यस सहकारी संस्थाले दूधाधारी माध्यमिक विद्यालयबाट एस.ई.ई. परीक्षामा सबै भन्दा उत्कृष्ट अंक ल्याएर सफल भएका विद्यार्थी नीर बहादुर राई र प्रकृति पौडेललाई सम्मान पत्रले सम्मान समेत गरेको छ । त्यस्तै बढी बचत गरेको मिना भाँट क्षेत्री र जेष्ठ नागरिक गुल्बा भरलाई सम्मान गरिएको थियो ।
ज्ञानपुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष प्रमिला पौडेलले यस संस्थाले महिलाहरुको उत्थान, महिला सशक्तिकरण र जनचेतनामुलक क्षेत्रमा विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको बताउनु भएको छ । प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष पौडेलले समुहका महिलाहरुलाई व्यवसायिक, सीपमुलक, प्राविधिक तालिम र जनचेतनकमुलक लगायत विभिन्न तालिम दिँदैे आएको जानकारी समेत गराउनु भएको थियो । शेयर सदस्यहरुको सक्रियताले राम्रो प्रगति गर्न सकेको उहाँले बताउनुभयो ।
यस सहकारी संस्थालाई बलियो बनाउन तपाईहरुको महत्वपूर्ण भूमिका हुने भएकोले सबैले आवश्यक सहयोग गर्न अनुरोध गर्नु भएको थियो । यो सहकारीले महिला उत्थानका लागि सक्दो सहयोग गर्ने र सक्षम बनाउन सक्ने भएकाले सहकारीमा सक्रियतापूर्वक लाग्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रम ज्ञानपुञ्ज महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष प्रमिला पौडेलको अध्यक्षता, संस्थाकी सदस्य राधा मिश्रको स्वागत मन्तव्य तथा सम्पन्न कार्यक्रमको सञ्चालन सीता बरालले गर्नु भएको थियो । गाउँपालिकाको वडा नं. १ गुगौलीमा अवस्थित सहकारीको साधारणसभामा २८ लाख बराबरको आय–व्याय प्रस्तुत गरिएको थियो ।
२४ फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया