९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पाल्पा रामपुरका नगर प्रमुखको तलबभत्ता सामाजिक काममा



पाल्पा ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले आफूले पाएको सबै तलबभत्ता सामाजिक क्षेत्रमा खर्चिने भएका छन् । नगर प्रमुख थापाले आफूले पाएको २७ महिनाको तलब रामपुरको गौशालाको स्तरोन्नतिका लागि सहयोग गर्ने घोषणा गरेका हुन् । उनले गौमाताको संरक्षण र गौशालाको स्तरोन्नतिका लागि २७ महिनाको तलबभत्ता नौ लाख ९ सय ९ रुपैयाँ सहयोग गर्ने बताए ।
आफूले पाएको तलबभत्ता मैले चुनाव अघि नै सामाजिक क्षेत्रमा खर्चने बाचा गरेको थिए, मैले पाउने तलबभत्ताले सामाजिक विकास र अशक्तको लागि केही भए पनि राहत पुग्नेछ भनी सहयोग गरेको हुँ, नगर प्रमुख थापाले भने ।
जनताले दिएको माया, साथ सहयोगलाई आत्मसात् गर्दै सेवाको भावना राखेर नितान्त सामाजिक हितमा काम गरी नगरको सिङ्गो विकासमा लागेको उनले बताए ।
नगर प्रमुख थापाले अपाङ्गता भएका व्यक्ति, असहाय गरिब परिवारमा पनि सहयोग गर्दै आएका छन् । उनले सामाजिक संघ संस्थामा व्यक्तिगत तर्फबाट पनि रकम सहयोग गरेका छन् । रामपुर नगरपालिका–६ स्थित तातोपानीधाममा नगरको सहयोगमा गौशाला निर्माण गरिएको छ । रामपुर क्षेत्रमा छाडा छाडिएका गाईलाई व्यवस्थापन गर्न र पछिल्लो समय हिन्दूधर्मअनुसार पवित्र मानिने गाई हेयका रुपमा हेरिन थालेपछि नगरले गौशाला निर्माण गरिएको हो । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  २ : ०७ बजे