९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

घोराही ४ का अध्यक्षले कार्यालय सहयोगीलाई कुटे



दाङ ।
घोराही उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्षले आफ्नै कार्यालय सहयोगीलाई कुटेका छन् । अध्यक्ष भिमबहादुर सार्कीले आफूलाई कुटपिट गरेको भन्दै कार्यालय सहयोगी पतिराम चौधरीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
उनले शुक्रबार दिएको निवदेनमा आफुलाई कार्यालयमै अध्यक्षले घोक्राएको तथा कुटपिट गरेको आरोप उल्लेख छ ।
निवेदनमा चौधरीले वडाध्यक्ष सार्कीले आफूलाई विनाकारण तथानाम गाली-गलौज गरेको तथा बारम्बार तर्साउने गरेको कुरा उल्लेख गरेका छन्। उनले निवेदनमा वडा अध्यक्षलाई पक्राउ गरी कानुनी कारवाही गर्न माग पनि गरेका छन् । चौधरी उक्त वडामा बिगत २५ वर्षदेखि कार्यरत स्थायी कर्मचारी हुन् । वडाध्यक्ष सार्कीले आवेगमा घटना भएको स्वीकार गरे ।
स्वास्थ्यका विषयमा छलफल गर्न टोल विकास संस्थाका अध्यक्षहरुलाई खबर गर्न दिएको निर्देशनको कार्यान्वयन नभएपछि आफु आवेगमा आएको भएपनि चौधरीले प्रचार गरेझैं घटना नभएको उनले दाबी गरे । उनले प्रहरी कार्यालयमा छलफल गरेको र कसैले उचालेका कारण चौधरीले निवेदन दिएको दाबी गरे । जिल्ला प्रहरी कार्यालय घोराहीले घटनाका बारेमा छलफल गर्न सोमबार दुवै पक्षलाई कार्यालयमा बोलाएर छलफल गरिने बताएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६ शनिबार ००:००  १ : ५३ बजे