पाल्पा ।
तानसेन नगरपालिकाले बजारमा छड्के अनुगमनलाई तीव्र पारेको छ । यसअघि प्रायः चाडपर्वका समयमा मात्र अनुगमन गरिन्थ्यो । पछिल्लो समयमा भने नगरपालिका भित्र रहेका विभिन्न बजारमा छड्के अनुगमन गर्न थालिएको हो । गुणस्तरहिन, म्याद गुज्रिएका खाद्यवस्तु खान बाध्य भएको उपभोक्ताले पटकपटक गुनासो गरेपछि अनुमगन थालिएको छ ।
तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेको नेतृत्वमा अनुगमन थालिएको छ । टोलीले तानसेन नगरपालिका–१४ अर्गली र ७ नम्बर वडाको प्रभाससहित तानसेनस्थित बसपार्कमा रहेका किराना पसल, होटल, बेकरी तथा पाउरोटी उद्योग र कस्मेटिक पसलमा अनुगमन गरेको छ ।
अनुगमनकाक्रममा म्याद गुज्रिएका, मूल्य नलेखिएका, उत्पादन मिति उल्लेख नभएको, लेवल नटाँसिएका खाद्यवस्तु फेला परेको तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गा थापाले बताए ।
उनले भने ‘अब गलत नियतले गुणस्तरहित समाग्री बिक्री गर्ने व्यापारी फेला परेमा कानुन बमोजिम कारबाही हुन्छ ।’ चाडपर्व विशेष मात्र नभइ अब नियमित छड्के अनुगमन हुने उनले बताए। फरक फरक समयमा फरक फरक प्रकारका पसलहरुमा सम्बन्धित विज्ञसहित अनुगमन गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बेलबासेले बताए। तत्काल आफुलाई ठगिएको महसुस भएमा सम्बन्धित निकायमा खबर गर्न उपभोक्तालाई प्रमुख प्रशासकीय अधिकृत बेलबासेले अनुरोध गरे ।
२४ फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया