९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गुल्मीका स्थानीय तहले राखे आफ्नै प्रहरी



गुल्मी ।
गुल्मीका स्थानीय तहले सुरक्षाको लागि आफ्नै मातहतमा रहने गरी नगर प्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना गरिसकेका छन् भने केही स्थानीय तह भर्ना गर्ने प्रक्रियामा रहेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले गत चैत १ गतेबाट पाँचजना नगरप्रहरी नियुक्त गरेको थियो । जसमध्ये दुई महिला र तीन पुरुष छन्। त्यसमध्ये पनि एकजनालाई प्रहरी सहायक निरीक्षकको दर्जा दिइएको छ ।

प्रहरी सहायक निरीक्षकको लागि १५ हजार र जवानको लागि १२ हजार पारिश्रमिक निर्धारण गरिएको छ । साथै मासिक तीन हजार रासन भत्ता पनि उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । यस्तै रेसुगां नगरपालिकाले सातजना नगरप्रहरी नियुक्त गरेको छ । जसमध्ये एकजना हवल्दार र बाँकी छ जना जवान रहेका छन् । नियुक्त गरिएकामध्ये दुई महिला र पाँच पुरुष छन् । सदरमुकाममा ट्राफिक व्यवस्थापन, वातावरण सरसफाई, कार्यालय सुरक्षा, बजार अनुगमनलगायतका कार्य नगर प्रहरीका मुख्य काम रहेका छन् । आवश्यक परेको खण्डमा जुनसुकै बेला नगरप्रहरी परिचालित हुने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

नगरपालिकाले प्रहरी हवल्दारको लागि मासिक १५ हजार र जवानको लागि मासिक १३ हजार पारिश्रमिक निर्धारण गरेको छ । त्यसबाहेक बार्षिक दुई जोर कपडा र राशन भत्तास्वरुप मासिक तीन हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । अहिले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिका पनि नगर प्रहरी भर्नाको प्रक्रियामा गएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : ४४ बजे