९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एसइई परीक्षामा प्रदेश ५ बाट ८१ हजार ४ सय १ परीक्षार्थी सहभागी हुँदै



बुटवल ।
चैत ६ गतेदेखि सुरू हुन लागेको एसइई परीक्षाको तयारी प्रदेश नं. ५ मा अन्तिम चरणमा पुगेको छ । प्रदेशका १२ वटै जिल्लामा प्रश्नपत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट र अन्य व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गरिरहेको छ ।
सामाजिक विकास मन्त्रालयले चैत १७ गतेसम्म हुने एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने गरी तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रश्नपत्र परीक्षा बोर्डबाटै आउने र १२ वटै जिल्लामा केन्द्राअध्यक्ष, सह केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहायक र सुरक्षाकर्मीको व्यवस्थापन प्रदेश सरकारले गरेको बताए ।
यसवर्ष प्रदेश ५ बाट ८१ हजार ४ सय १ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । ३ सय २१ परीक्षा केन्द्रबाट प्राविधिक नियमिततर्फ २ हजार १ सय ३१, साधारण नियमिततर्फ ७६ हजार ६ सय १८ र ग्रेड वृद्धिका २ हजार ६ सय ५२ गरी ८१ हजार ४ सय १ जना विद्यार्थी सहभागी हुन लागेको मन्त्री बरालले जानकारी दिए । गतवर्ष प्रदेश ५ बाट ७८ हजार ६ सय ५७ जना परीक्षार्थी सहभागी भएका थिए ।
सामुदायिकतर्फ १ हजार ७ विद्यालयका ६० हजार ५ सय ५५ र संस्थागततर्फ ६ सय ६१ विद्यालयका २० हजार ८ सय ४७ गरी कुल ८१ हजार ४ सय १ जना विद्यार्थीहरूले एसइई दिन लागेका हुन् ।
यीमध्ये ९ जना दृष्टिविहीन, १३ जना सुस्तश्रवण, २ जना शारीरिक अपांगता गरी २४ जना अपांगता भएका विद्यार्थी एसइईमा सहभागी हुन लागेको मन्त्रालयले जनाएको छ ।
एसइई परीक्षाका लागि कुल १२ हजार ५९ जना जनशक्ति खटाउन लागिएको छ। १२ वटै जिल्लामा केन्द्राअध्यक्ष ३ सय २१, सहायक केन्द्राध्यक्ष ४ सय ११ जना, निरीक्षक ४ हजार ७० जना, परीक्षा सहायक ८ सय १४ जना र सुरक्षाकर्मी ४ हजार ८ सय १५ जना गरी १२ हजार ५९ जना जनशक्ति परिचालन गर्न लागिएको हो । जिल्ला स्तरमा परीक्षालाई मर्या्दित, अनुशासित र व्यवस्थित गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति समेत गठन गरिएको छ ।
परीक्षामा सबभन्दा बढी रुपन्देहीबाट १७ हजार ४ सय ३० जना र सबभन्दा कम पूर्वी रुकुमबाट १ हजार ७४ जना विद्यार्थी एसइईमा सहभागी हुँदैछन् ।
सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा सञ्चालनका लागि संघीय सरकारबाट ससर्त अनुदानका रूपमा प्राप्त ४ करोड ३९ लाख खर्च हुने अनुमान गरेको छ ।
यसस्तै एसईइमा कपिलवस्तु जिल्लावाट ७ हजार ४ सय ७२ विद्यार्थीले परिक्षामा सभागीता जनाउदै छन् । जिल्लाका सामुदायिक ७७ विद्यालय, संस्थागत ४८ विद्यालय र खुल्ला १ विद्यालय गरि १ सय २६ विद्यालयका विद्यार्थीहरुले नियमित, ग्रेड वृद्धि, प्राविधिक र खुला तर्फ परिक्षा दिन लागेका हुन् ।
सेतोपाटीबाट

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  ६ : १९ बजे