बाँके ।
नेपालगञ्ज विमानस्थलमा कोरोना भाइरसलाई मध्यनजर गर्दै हेल्थ डेस्क सञ्चालनमा आएको छ । कोरोनाको संक्रमण भित्रिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबारदेखि विमानस्थल परिसरमा यात्रुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । नेपालमा पनि कोरोना भाइरसको जोखिम बढेपछि हवाई सेवामार्फत नेपालगञ्ज आउने यात्रुको स्वास्थ्य परीक्षण गर्न थालिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए ।
उनले नेपालगञ्ज विमानस्थल भएर आउने–जाने यात्रुको स्वास्थ्य परीक्षण गरेर मात्र पठाउने गरेको बताए । उनले भने, ‘जानेभन्दा आउने यात्रुलाई प्राथमिकतामा राखेर स्वास्थ्य परिक्षण गरिरहेका छौँ ।’ विमानस्थलमा बिहान ५ बजेदेखि राति ९ बजेसम्म विमानस्थल भएर आउजाउ गर्ने यात्रुको स्वास्थ्य जाँच गरिने छ । अहिले फरेनहाइट थर्मामिटर (शरीरको तापक्रम नाप्ने मेसिन) मार्फत यात्रुको तापक्रम मापण गर्दै आएको छ । रुघाखोकी लागेको फेला परेमा सामान्य औषधि दिने र परामर्श दिने गरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए । कोरोना भाइरसको संक्रमण भएको आशंका लागेमा भेरी अस्पतालसँग समन्वय गरी आइसोलेसन वार्डमा राखेर अनुसन्धान गर्ने र थप जाँच तथा परीक्षण गरिने छ ।
प्रमुख जिल्ला अधिरीकारीको संयोजकत्वमा प्रहरी, सेना, भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, उपमहानगरपालिका, स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयबीच संयुक्त छलफल भएको चन्दले बताए। विमानस्थल मात्र नभएर नेपाल–भारत सीमामा समेत चारजना स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य परीक्षण गर्दै आएको छ ।
जनस्वास्थ्य अधिकृत चन्द अनुसार पहिलो दिन बिहीवार मात्र ९५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा केहीमा पनि कोरोनाको संक्रमण नभेटिएको हेल्थ डेस्कमा खटिएका अहेब सुरज बोहराले जानकारी दिए ।
प्रतिक्रिया