८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

‘सुरक्षित आवास नभएकै कारण कसैको जीवन जोखिममा पर्दैन’



पार्बती आचार्य, चारनम्बर ।
आगामी नगर सभावाट सुरक्षित आवासका लागि आवश्यक बजेट विनियोजन गर्ने वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसालले प्रतिबद्धता जनाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार समुह बाणगंगाले विहीबार आयोजना गरेको आवासको अधिकार सम्बन्धि अन्तरकृयामा बोल्दै वडाध्यक्ष भुसालले सो कुरा बताउनु भएको हो । ‘जुन नागरिकको आधारभुत रुपमा साँझ, विहान खान पाउने, सामान्य स्वास्थ्य उपचार पाउने र सुरक्षित आवास हुन सक्दैन्, तबसम्म वाणगंगा समृद्ध बन्न सक्दैन् उहाँले भन्नुभयो, “आगामी दिनमा यसका लागि प्रयाप्त बजेट छुट्याउँछौं ।”
नागरिकको सुरक्षित आवास नभएकै कारण जीवन जोखिममा पर्ने अवस्था आउन दिन नहुने उहाँले बताउनुभयो । नगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहनुभएका भुसालले पहिले आफ्नो वडामा सुरक्षित आवास सम्बन्धि कार्यक्रम अन्तरर्गत खरका छाना मुक्त पार्ने कामको सुरुवात गरेको बताउनुभयो ।
सम्बृद्ध नगरपालिका निमार्णका लागि आधारभुत स्तरका जनतालाई सुरक्षित आवास नदिएसम्म नगर समृद्ध नबन्ने भन्दै जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाईले नागरिकको आधारभुत आवश्यकता पुरा नभएसम्म सम्बृद्ध नगर बन्न नसक्ने भन्दै इन्सेकले अगाडी सारेका शिक्षा, स्वास्थ्य, खाद्य र आवासका अधिकार जस्ता विषयमा नगरपालिकाले योजना बनाई कार्यन्वय गर्नु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा टिनका छाना मुक्त अभियानका संयोजक भरत कुमार कार्कीले नागरिकको पहिलो आवश्यकता नै सुरक्षित आवास रहेकोले नगरपालिकाले आगामी बजेटबाट पुरै नगरपालिका भित्र रहेका नागरिकका खरका छाना मुक्त गराई समृद्ध नगरपालिका घोषणा गर्नु पर्ने सुझाव दिनु भयो ।
मानवअधिकार समुह बाणगंगाका अध्यक्ष रोमाकान्त घिमिरेले समृद्ध नगरपालिका निमार्णका लागि इन्सेक र मानवअधिकार समुहले अभियान संचालन गरी रहेकोले नगरपालिकालाई समन्वय गरेर अगाडी बढन आग्रह गर्नु भयो । जबसम्म शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार उपभोग गर्न पाउँदैन तवसम्म समृद्ध सम्भव नभएको उहाँले दोहोर्याउनुभयो ।
अन्तरकृया कार्यक्रममा इन्सेक सहजकर्ता नन्दराम पौडेलले नेपालको संविधान ०७२ को मौलिकहक अन्तरर्गत धारा ३७ मा रहेको आवास सम्वन्धि हक र आवास सम्बन्धि कानुनकाबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा आवास विहिन नागरिक रुपा जिसी, अम्बिका कुमारी विक, किष्मती थारु लगायतले आफुहरु संविधान र कानुनमा आवासका कुरा गरेपनि सुरक्षित आवास नहुँदा कतिबेला दुर्घटनामा परिने हो भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम इन्सेक प्रतिनिधि पार्वती आचार्यको संचालन मानव अधिकार समुहका कोषाध्यक्ष थानेश्वर अधिकारीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : ४६ बजे