८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

जम्मू–कश्मीरमा हट्यो सामाजिक सञ्जालमाथिको प्रतिबन्ध



काठमाडौं ।

बुधबार जम्मू–कश्मीरमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ तर अहिले इन्टरनेटको स्पीड (क्षमता) २जी हुनेछ ।

गएको ५ अगस्टमा केन्द्र सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा समाप्त गरेपछि नै त्यहाँ इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको थियो ।

कैयौँ शर्तसँगै यही वर्षको जनवरी २५ मा जम्मू–कश्मीरमा इन्टरनेट सेवा सुरु गरिएको थियो तर इन्टरनेट क्षमता २जी नै राखिएको थियो । इन्टरनेट सेवा सुरु गरिएसँगै सामाजिक सञ्जालमा प्रतिबन्ध कायम रहने र केही छानिएका वेबसाइट्समात्र खुल्ने शर्त राखिएको थियो ।

बुधबार जम्मू–कश्मीरमा सामाजिक सञ्जाल सुरु गर्ने जानकारी पाएलगत्तै कश्मीरमा रहेका मानिसहरुले निकै राहतको महसुस भएको बताएका छन् । साथै यो आदेशमा कुनै विशेष बेवसाइटमात्र खुल्ने भनेर पनि बताइएको छैन ।

यसअघि अधिकारीहरुको तर्फबाट आएको आदेशमा मात्र १६ सय बेवसाइट्सलाई मान्यता दिइएको थियो ।

सामाजिक सञ्जाल सुरु भए पनि त्यसको प्रयोगलाई लिएर केही नियम वा शर्तहरु पनि छन् ।

इन्टरनेटको क्षमता २ जी नै रहनेछ, जबकि पोस्टपेड सिम कार्ड प्रयोग गर्नेका लागि भने इन्टरनेट सुविधा रहिरहनेछ । साथै प्रिपेड सिम प्रयोग गर्नेहरुका लागि जाँच प्रक्रिया नभएसम्म इन्टरनेट सेवा उपलब्ध हुनेछैन ।

यो नियम र शर्त आउँदो १४ मार्चसम्म लागू हुनेछ र यो समयभित्र संशोधन पनि गर्न सकिने बताइएको छ ।

अहिलेसम्म धेरैजसो कश्मीरका नागरिक सामाजिक सञ्जालको प्रयोग गर्नका भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दै आइरहेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६ बिहिबार ००:००  १ : २३ बजे