८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना त्रासः इरानमा ७७ जनाले ज्यान गुमाए, ५४ हजार कैदी रिहा



एजेन्सी ।
कोरानो भाइरसले महामारीको रुप लिएपछि इरानले जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ । कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन् । भीडभाडयुक्त जेलमा रहेका कैदीहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने भन्दै इरान हजारौं कैदीहरुलाई अस्थायी रुपमा रिहा गरेको हो ।
कोरोना संक्रमण निस्तेज भएपछि बाँकी सजाय भुक्तानीका लागि यी कैदीहरु फेरि जेलमा फर्कनुपर्नेछ । कैदीहरुमा कोरोना संक्रमण जाँच गरिएको र संक्रमण नभेटिएपछि जेल बाहिर पठाइएको न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्लाइलीले जानकारी दिएका छन् । तर पाँच बर्षभन्दा बढी सजाय तोकिएका कैदीहरुलाई पनि रिहा गरिएको छैन ।
इरानले जेलमा राखेका सहायताकर्मी नाजानिन जहारीलाई पनि केही समयभित्रै रिहा गर्ने तयारी भइरहेको बताइएको छ । कोरोनाका कारण दुईसाताभित्रै ७७ इरानीले ज्यान गुमाइसकेका छन्। त्यहाँका स्वास्थ्यमन्त्रीले मंगलबार मात्रै कोरोना संक्रमणको दर साविकको भन्दा ५० प्रतिशतका दरले बढेको बताएका छन् । सरकारी तथ्यांकअनुसार अहिलेसम्म २३३६ जनामा कोरोना संक्रमण भएको छ । तर संक्रमितहरुको संख्या यो भन्दा निकै धेरै हुन सक्ने अनुमान गरिएको छ ।


इरानी संसदका २३ सांसद र निकै धेरै संख्यामा उच्चअधिकारीहरुमा पनि कोरोना संक्रमण भएको छ । सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीका निकटस्थ मोहम्मद मिर्मोहामादीको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको बताइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक टोली सोमबार नै राजधानी तेहरान पुगिसकेको छ । उनीहरुले स्थानीय स्वास्थ्य अधिकारीहरुलाई कोरोना संक्रमण रोकथामका लागि सहयोग गर्नेछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ३३ बजे