मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ४ सरसफाईमा जुटेको छ । सरसफाई मानव जीवनमा महत्वपूर्ण हुने भन्दै वडा भित्रको सरसफाईमा वडा कार्यालय जुटेको हो । वडाभित्र पर्ने विद्यालय, बजार क्षेत्र र बाटोघाटो चिरिच्याट्ट पार्ने कामको शुभारम्भ गरिएको वडा अध्यक्ष पवन कुमार थारुले जानकारी दिनुभयो ।
वडा कार्यायलले सोमबार भृकुटी मावि बुड्ढीमा सरसफाई गरेको थियो भने मंगलबार वडाको विभिन्न क्षेत्रमा विशेष अभियानको साथ सफाई अभियान सुरु गरेको हो । अभियानको शुभारम्भमा नगर प्रमुख केशव कुमार श्रेष्ठ लगायत नेपाली सेना, प्रहरी र वडाबासीको सक्रिय उपस्थिती रहेको थियो ।
वडा कार्यालयले वडालाई पूर्ण सरसफाई युक्त बनाउनका लागि बार्षिक कार्यक्रम तय गरेर अभियान सञ्चालन गरेको वडाध्यक्ष थारुले बताउनुभयो । वडाभित्र रहेका विपन्न समुदायलाई पक्की शौचालय बनाउन सहयोग गर्दै आएको वडाले यो बर्ष देखि सरसफाई सम्बन्धि अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । वडा खुल्ला दिसामुक्त भैसके पनि आर्थिक रुपले विपन्न समुदायमा पक्की शौचालय नहुँदा समस्या थियो । वडाले पक्की शौचालय निर्माणका लागि सिमेन्ट, इट्टा लगायतका सामग्री दिदै आएको छ ।
वडाका मुख्य मुख्य स्थानमा फोहर राख्ने डस्टविन राखिने र फोहर जथाभावी फाल्नेलाई डण्ड जरिवाना तिराइने उहाँले बताउनुभयो । पूर्ण सरसफाई विना वडाबासी स्वस्थ्य बन्न नसक्ने ठानेर यस्तो अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले सरसफाईमा वडा नं. ४ ले गरेको काम अनुकरणीय रहेको बताउनुभयो । वडाको एक्लो प्रयासले मात्र वडालाई सरसफाई युक्त बनाउन नसकिने भन्दै सबैले यसमा हातमा हात, साथमा साथ लिएर अगाडी बढ्ने पर्ने बताउनुभयो । सरसफाई वडाको लागि नभई आफ्नै लागि भएकोले यो अभियान सफलतापूर्वक सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
२० फाल्गुन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया