८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

होली पर्व नजिकिएसँगै गाउँगाउँमा जोगिरा सुरु



जलेश्वर ।
होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन सुरु भएको छ ।

महोत्तरी जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकाका प्रत्येक गाउँ टोलमा गएरातिदेखि नै बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको हो ।

होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा सुरु गरेको जलेश्वर नगरपालिका–११ का होलैया ९जोगिरा गाउने० उमेश मण्डलले बताए ।

विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दलाई लयमा ढालेर जिल्लावासीले जोगिरा गाउने गरेको जलेश्वर–७ का होलैया तथा वडाध्यक्षसमेत रहेका राम छविला यादवले बताए ।

होलीको अवसरमा जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि नसुत्ने बनाएको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया वैद्यनाथ चौधरीले बताए ।

जलेश्वर–९ का होलैया रामप्रसाद सिंहले आफूहरू जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा बयोवृद्धलाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म विभिन्न जोगिरा गाउने गरिएको बताए ।

होलैयाले जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरूले रातिको बेला गाउँको चोकचोकमा ठूलो सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको बताए । रासस

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  १ : ४६ बजे