१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

बेनी–जोमसोम–कोरला सडकखण्ड सुख्खा पहिरो



म्याग्दी । बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसाको घैपुमा सोमबार सुख्खा पहिरो खस्दा एक जनाको ज्यान गएको छ ।सडक खनिरहेको अवस्थामा सडकमाथिबाट खसेको सुख्खा पहिरोले एक्स्काभेटर घैपु खोलामा खस्दा एक्स्काभेटर अपरेटरको ज्यान गएको हो । ज्यान जानेमा सिन्धुपाल्चोक घर भएका अर्जुन दाहाल रहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडक सफा गरिरहेको एक्स्काभेटर खोलामा खस्दा दाहालको एक्स्काभेटरको चेनले च्यापिएर ज्यान गएको हो । डोजरको चेनले च्यापिएको अवस्थामा रहेको हुँदा उनको शव निकाल्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । एक्स्काभेटर सडकबाट झण्डै तीन सय मिटर तल घैपुखोलामा खसेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । पहिरोले बसलाई समेत क्षति पुर्‍याएको छ । घटना भएलगत्तै नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयवासी घटनास्थल पुगेर उद्धारको प्रयास गरेका थिए । सुख्खा पहिरो खसेसँगै बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध बनेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६ मंगलबार ००:००  ७ : १४ बजे