८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘सुकुम्बासी किसानलाई बसोबासको व्यवस्था सरकारले गर्छ’



बाँके ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सरकारले भूमिहीन सुकुमबासी किसानलाई जमिन किनेर भए पनि बसोबासको लागि व्यवस्था मिलाउने तयारीमा रहेको बताउनुभएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नंम्बर ६ सम्झनाचोकमा भुमिहीन किसानलाई जग्गाधनी पूर्जा बितरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको भन्दै भन्नुभयो ‘लामो समयदेखि रहेको भूमि समस्यालाई हल गर्न प्रदेश सरकारले सबै प्रकारका कानूनी प्रक्रिया पूरा गरिसकेको छ । यो समस्या सम्बोधन हुन्छ ।’

मुख्यमन्त्री पोखरेलले सरकारले इतिहासमै पहिलोपटक उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी समेत गर्नुभयो । ‘भोट माग्ने राजनीति सिद्धिने डरले कतिपय दलले सरकारविरोधी गतिविधिलाई बढावा दिएको हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘पछिल्लो समय विकासको चिन्ता गर्नेभन्दा बढी विकासका गतिविधिका कारण चिन्तित हुनेको सङ्ख्या बढ्दै गएको छ ।’

साथै उहाँले सरकारले गरेका राम्रा कामको प्रचार नहुँदा विभिन्नखाले नकारात्मक टीकाटिप्पणी हुने बताउनुभयो । नेपालले विकसित मुलुकहरु बराबरको आर्थिक वृद्धिदर हासिल गर्दै गएको र प्रदेश सरकारले सञ्चालन गरेका काम जनताले अनुभूति गर्न थालेको उहाँको दावी थियो ।

सो अवसरमा बाँकेको बैजनाथ गाउँपालिका–६ मा जग्गा उपभोग गरेका ११३ सुकुम्वासीलाई तेस्रोचरणको कार्यक्रम अन्तर्गत जग्गाधनी पुर्जा वितरण गरिएको थियो । उनीहरुले २२ वर्षपछि पुर्जा पाएको जनाइएको छ । पहिलो चरणमा २८ र दोस्रो चरणमा ११० जनाले जग्गाधनी पुर्जा प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ८ : १५ बजे