मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा यही फागुन ११ गते बाट सुरु भएको नगर खेल महोत्सव आइतबार सम्पन्न भएको छ । ९ दिनसम्म संचालन भएको खेल महोत्सवमा विभिन्न ५० खेलमा प्रतिस्पर्धा भएको थियो । आइतबार भव्य समारोहबीच महोत्सव समापन गरिएको हो ।
समापन समारोहमा बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले खेलकुदले मानवलाई स्वस्थ बनाउनुका साथै विभिन्न कुलतमा लाग्नबाट समेत युवाहरुलाई बचाउने बताए । खेल जगतमा पछिल्लो क्रममा नगरका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पदक जितेर नगरको गरिमा बढाएको बताए । खेलकुदले शारीरिक, मानसिक र सामाजिक रुपमा सर्वाङ्गीण विकासमा समेत टेवा पुग्ने मेयर अधिकारीले जनाए । नगरले विभिन्न खेलकुदका शीर्षकमा छुट्याइएको बजेटबाट नगरमा रहेका खेलाडीहरुलाई प्रोत्साहन गरिएको उद्घोष गरे ।
नगर खेल महोत्सवमा विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड, मेयर कप र उप मेयर कप शीर्षकमा विभिन्न खेलहरु खेलाइएको नगर खेलकुद विकास समिति अध्यक्ष नेत्र वेल्बासेले बताए । यसवर्षको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरले जितेको छ । रनिङ्ग शिल्ड तर्फ दोस्रो समयथान माध्यमिक विद्यालय खरेन्द्रपुर, तेस्रो प्रकाश माध्यमिक विद्यालय सुन्दरीडाँडा भएको खेल संयोजक बेल्वासेले जानकारी दिए ।
नगरका ११ विद्यालयको सहभागिता रहेको रनिङ्ग शिल्डमा प्रथम हुने विद्यालय नेपाल आदर्श मा.वि.लाई नगद ११ हजार शिल्ड मेडल र प्रमाण पत्र, दोस्रो समयथान माविलाई नगद ७ हजार मेडल र प्रमाण पत्र, तेस्रो स्थान प्राप्त गर्ने प्रकाश माविलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
यता मेयर कपतर्फ फुटबल खेलमा गोल्डेन स्टार युवा क्लब बानियाँभार प्रथम स्थान ल्याउन सफल भयो । भने शिवशक्ति युवा क्लब शिवपुर उप विजेता बन्यो । मेयर कपतर्फ नै क्रिकेट र भलिबल प्रतियोगितामा क्रमशः राइजिङ्ग स्टार युवा क्लब चन्द्रौटा, भलिवलको उपविजेतामा न्यू शिवपुर युवा क्लब भएको आयोजकले जनाएको छ ।
उप मेयर कपतर्फको फुटबल प्रतियोगितामा जयबुद्ध युवा क्लब विजेता र गोल्डेन स्टार युवा क्लब उप विजेता भएको बताइएको छ । महिला फुटबल प्रतियोगितामा जयबुद्ध युवा क्लब नै विजयी भएको शिक्षा शाखा अधिकृत पूर्ण बहादुर विश्वकर्माले जानकारी दिए । मेयर र उपमेयर कपमा फुटबलतर्पm प्रथम हुने टिमलाई नगद २५ हजार, क्रिकेटतर्फ १५ हजार नगद, शिल्ड र प्रमाण पत्र प्रदान गरिएको शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।
कुल ९ लाख ५० हजार बजेट रहेको नगर खेल महोत्सवमा ८ सय जना खेलाडी सहभागी भएका थिए । ५० खेलमा प्रतिस्पर्धा भएको नगर खेल महोत्सव भव्य, सभ्य र निकै सौहाद्र्रपूर्ण बाताबरणमा सम्पन्न भएको नगर खेलकुद विकास समिति अध्यक्ष नेत्र बेल्वासेले बताएका छन् ।
१८ फाल्गुन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया