८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सुरेन्द्र पाण्डे ज्ञानपुञ्ज बोर्डिङको नयाँ प्रिन्सिपल, यस्तो छ प्रतिवद्धता



मायादेवी अनलाइन, कपिलवस्तु ।
यस क्षेत्रका शैक्षिक ब्यक्तित्व सुरेन्द्र पाण्डे ज्ञानपुञ्ज बोर्डिङ स्कुल बाणगंगा २ राजपुरको नयाँ प्रिन्सिपलमा नियुक्त हुनुभएको छ । विगत १६ वर्षदेखि कपिलवस्तुको शैक्षिक उन्नयनमा सक्रिय पाण्डेलाई विद्यालय ब्यवस्थापन समितिको वैठकले आजदेखि लागु हुने गरी कार्यकारी प्रिन्सिपलको रुपमा नियुक्त गरेको हो । उहाँले आइतबार (आज) देखि नै पदभार ग्रहण गर्नुभएको विद्यालयका अध्यक्ष पदमलाल अधिकारीले जानकारी दिनुभयो । शिक्षा योजना तथा ब्यवस्थापन बिषय अध्ययन गर्नुभएका पाण्डेले यसअघि पनि बिभिन्न शैक्षिक संस्थाको कुशल नेतृत्व गरिसक्नु भएको छ ।

पदभार ग्रहण गरिसकेपछि मायादेवी अनलाइन र रेडियोसंग छोटो कुराकानी गर्दै पाण्डेले आफ्नो पहिलो काम भनेको थप गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताउनु भयो । गुणस्तरीय शिक्षाको लागि शिक्षक लगायतलाई बिभिन्न तालिम र सेमिनारहरु प्रदान गर्ने र विद्यार्थीहरुलाई पनि क्षमता अनुसार सिर्जनशिल बनाउने आफ्नो योजना रहेको उहाँको भनाई छ । विद्यार्थीलाई घोकन्ते भन्दा पनि ब्यावहारिक र सीपमुलक शिक्षा दिन सके मात्र विद्यालय शिक्षा सुध्रने भएकाले आफूले त्यही मर्म अनुसार आगामी दिनको योजना बनाउने उहाँले बताउनु भयो ।

ब्यवस्थापन समितिले हालसम्म प्रिन्सिपल रहनु भएका रोमाकान्त घिमिरेलाई प्रवन्ध निर्देशकको जिम्मेवारी दिएको छ । उहाँले पनि आजैदेखि सो पद सम्हाल्नु भएको छ । विद्यालयको सहायक प्रिन्सिपलमा अहिले विनोद नेपाल रहनु भएको छ । ज्ञानपुञ्ज बोर्डिङ यस क्षेत्रमा पहिलोपटक आइ एस ए अवार्ड प्राप्त गर्न सफल एक मात्र संस्थागत विद्यालय हो । यस विद्यालयमा अहिले साढे ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६ आइतबार ००:००  ६ : ५८ बजे