काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै देउवाले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिन भन्दा बढी समय भए पनि छानबिन सुरु नहुनुको पछाडि गम्भीर नियत लुकेको बताए ।
उनले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए । ‘हप्ता दिन पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भीर नियत छ । अडियो प्रष्ट सुनिन्छ । हामी कसलाई भनेका हुन् ? हामीभित्र को को पर्छन् ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस,’ उनले भने । छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुने देखिएको देउवाको आशंका थियो ।
‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’, देउवाले प्रश्न गरे ।
सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको श्वेतपत्र लिएको आरोपसमेत लगाएका छन् ।
‘नेपाल ट्रष्टको श्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ । टेलिकमको प्रकरणमा अर्बौं भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटीसीलाई १२ अर्ब कसरी लाग्यो रु’, देउवाले प्रश्न गरे ।
उनले नेपाल ट्रष्टको श्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले श्वेतपत्रप्रति आपत्ति जनाए । उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे ।
सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण पनि गराए । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ ) ले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीलाई तीव्रता दिनुपर्ने देउवाले बताए ।
विदेशमा रहेका नेपालीहरूलाई सतर्क रहन पनि देउवाले आग्रह गरेका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए । संसदीय मान्यताअनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भए पनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित थिए ।
प्रतिक्रिया