नारायण खनाल ।
प्रायः जसो घरपरिवारबाटै बन्ने गुटले टोल, छिमेक, गाउँ, जिल्ला, क्षेत्र, देश महादेश र अन्ततः अन्तर्राष्ट्रियसम्म सर्वत्र जरा गाड्ने रहेछ भन्ने कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा घटिरहने घटनाक्रमबाट प्रतीत हुन्छ । अन्तर्राष्ट्रिय रुपमा अस्तित्वमा रहेका बिबिध प्रकृतिका गुटका क्रियाकलापले सकारात्मक र नकारात्मक दुवै प्रभाव छाडेको भेटिन्छ तर नेपालका राजनीतिक दलहरूमा देखिने गुटहरु भने देश र जनताको समृद्धिको निम्ति त कता हो कता स्वयं उनकै पार्टीको निम्ति समेत हितकर बन्न सकेका छैनन् । उत्ताउलो र अस्वाभाविक क्रियाकलापमा संलग्न बनि अप्रिय र असभ्य शैलीको प्रदर्शन गरेर अहंकार र असहिष्णुताका उदाहरण बन्न भने यिनीहरुलाई कसैले भेट्दैनन् ।
राणाकालमा राजा अनि भाइभारादारहरु बिच उठेका, फुलेका र चुँडिएका गुट भनौं या पञ्चायतको चक्रब्युहमा जनतालाई प्रताडित गर्ने अस्त्रको रुपमा प्रयोग भएका पञ्चका गुट र सोही समयमा राजनीतिक पार्टीका सिद्धान्त बिहिन फुटका चिराहरुबाट हाम्रो देशमा धुन्नुकारी गुटहरुले राज जमाएका प्रशस्तै उदाहरण भेट्न सकिन्छ ।
प्रत्येक कालखण्डमा देखिएका राजनीतिक पार्टी भित्रका गुटहरु अधिकांशले नेताहरू बिचको दूरी बढाइदिनु, आन्तरिक सन्तुलन बिगार्नु र राजनीतिमा अस्वाभाविक उदय र यात्रालाई प्रश्रय दिनु अनि राष्ट्र र जनताका अहितमा हुने कामहरू गराएर आपसमा खुसियाली साट्नु बाहेक अन्य कुरामा विजय हासिल गरेको उदाहरण कमै देखिन्छ ।
बर्तमानमा पनि हाम्रो देशमा सत्तामा रहेर शासन चलाइरहेको नेकपा र प्रतिपक्षी काङ्ग्रेस सँगै अन्य राजनीतिक पार्टी भित्रका गुटहरुले मुख्यतः पार्टीको आन्तरिक जीवनमा असन्तुलन ल्याउने, अनेक प्रपञ्चमा ढुकुटी रित्याउने, राष्ट्र र जनताका हितमा हुने महान उपलब्धिलाई पन्छाएर नेतृत्वलाई प्रतिगमनको ताण्डब नृत्यमा बग्न प्रेरित गर्ने र सोही अनुसारको डिजाइनमा नेताहरूलाई फसाएर राज्यदोहनको सेटिङ र डिलिङ आफ्नो कब्जाबाट उम्कन नदिने काम गरिरहेका छन् ।
दुखः त यस मानेमा छ कि जनताहरु सुस्त सुस्त सचेत र सुसूचित बनिरहेका छन् र कार्यकर्ताहरु क्रमश अन्धभक्त र झोलेबाट विवेकशील, चेतनशील, चिन्तनशील र सहयोगी बनिरहे पनि गुटे चस्माहरु जनता र कार्यकर्तालाई रैती भन्दा माथि देख्न सक्दैनन् र गुलामी चाकरीमा जबर्जस्त लाग्न बाध्य पार्ने बाताबरण सृजना गर्न न्वारान देखिको बल लगाइरहेका छन् ।
प्रत्येक राजनीतिक दलका गुटका तरंगहरु अहिलेसम्म गाउँ, टोल सम्म आउँछन्, झनझनिन्छन्, टिकेहरु रोज्छन्, खोज्छन् र अबिर लगाइदिन्छन् अनि आत्मतृप्तिमा रमाउँछन् । निष्ठावान कार्यकर्तालाई पाखा लगाएर स्याल गुणे गधाहरुलाई बाघका डमरू भनेर भ्रम छर्छन् । नेताजीहरु गुटको चाकडीलाई भक्तहरुको आराधना सम्झन्छन् र उनीहरूकै निर्देशनमा विवेकहीन निर्णय गर्छन् । यसो भन्न सकिन्छ कि जब गुटहरुले बुट लगाउँछन, खुट्टाहरु निसास्सिनु बाहेकको विकल्प छैन किनकि खुट्टाका मालिकहरुको बुद्धि गुटहरुले बन्दी बनाइसकेका हुन्छन् ।
नेपाली राजनीतिका गुटे चस्माहरुको दृष्टि निकै टिठलाग्दो छ जसले घुनलाई सुन र सुनलाई घुन देख्छन्, धतुरोलाई स्ट्रबेरि भनेर प्रचार गर्छन् । जनतालाई उल्लु वा भेंडा सम्झन्छन् अनि गुटकै जितको निम्ति गुटकै नाइकेहरुको बचाउ र प्रशंसा गर्छन् ।
नेपाली जनताहरुमा अहिले क्रमशः चेतनाको दियो सल्कन थालेको छ।भ्रमका फोहोराले उक्त दियोलाई निभाउन खोज्नु यी गुटेहरुको भ्रम मात्रै होइन भुल हो भन्नेकुरा यिनीहरूको दिमागमा घुस्ला भन्ने सोंच्नु पनि शिलालाई मह चटाएर गुलियो पन सोध्नु जस्तै देखिन्छ । थुप्रै घटनाक्रममा राजनीतिक अस्थिरताको निम्ति जीवन मरणको लडाइ लड्ने गुट र गुटे चस्माहरुका बदमासीका हिसाब जनताले राखेका छन् । उनीहरूका सम्पूर्ण क्रियाकलाप कार्यकर्ताले सूक्ष्म अवलोकन गरेका छन् । सच्चा र इमानदार कार्यकर्ताले गुटेहरुका निष्ठा र नियतमाथि प्रश्नहरुको वर्षा गरिरहेका छन् तैपनि यिनीहरूको संगठित नियत नै पार्टी, राष्ट्र र जनताको नोक्सानीका निम्ति पहलकदमी गर्नु मात्रै देखिन्छ ।
हाम्रो देशमा हेर्ने हो भने प्रतिपक्षी काङ्ग्रेस भित्र गुटको अराजकताले पार्टीको आन्तरिक जीवन खलबलाएकै छ र मधेस केन्द्रित दलहरू पनि यसको शिकार बनिरहेका छन् । अहिले सत्तारुढ नेकपा भित्र सलबलाएका गुट र गुटे चस्माहरु त झन् पटक्कै राष्ट्रको हितमा छैनन् । यिनीहरू सत्ता र शक्तिको निम्ति नाङ्गिएर हामीलाई आँखा छोप्न बाध्य पार्लान भन्ने ठूलो डर बढेको छ।सिद्धान्तलाई लत्याएर, देशको हितलाई छाडेर गुटको हितको खातिर सलबलाउने सर्प गुणका गुटहरुको विश्वासमा नेकपा नेतृत्व विशेषगरी अध्यक्षद्वय रहे भने स्वयं नेकपा र नेपाल राष्ट्रको भविष्य कहालीलाग्दो बन्ने निश्चित प्रायः देखिन्छ । नेकपाको यो जनतालाई काम गरेर देखाउने र राष्ट्र निर्माणमा अघि बढ्ने समय हो, गुटका लागि इतिहास बोकेको पार्टी धरापमा पार्नु होइन जुन कसैको हितमा छैन ।
राष्ट्र, जनता र पार्टी समेतको हितलाई सर्बोपरि ठानेर गुटेहरुका बदमासी खोतल्नु पर्ने र खन्नुपर्ने कार्यभार नेपाली नेताहरूले समयमै पूरा गर्नुपर्ने हुन्छ । यो काममा खुट्टा कमाउने र गुटको सलामीमा रम्नेहरु कहिल्यै राष्ट्रले सम्मान गर्ने हैसियत राख्नसक्ने छैनन् । अनेक प्रपञ्चमा राष्ट्रको ढुकुटी रित्याउने, सार्वभौम जनतालाई तड्पाउने, समृद्धिका बोटहरु कुल्चने गुट र गुटेचस्माहरुले नेताहरू कै राम कहानी समाप्त पार्नेछन् । राष्ट्रको चिन्ता हुने सबैले गुट र गुटेचस्माहरु फुटाउनु पर्छ भन्ने चेत सबै राजनीतिक नेताहरूमा समयमै आउनु पर्छ तबमात्र हामी र हाम्रो अस्तित्व रहने छ ।
लेखक खनाल मायादेवी अनलाइनका नियमित स्तम्भकार हुनुहुन्छ ।
प्रतिक्रिया