७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

श्रीलंकन मन्त्रिपरिषदद्धारा एमसीसी अस्वीकार



काठमाडौ ।
नेपालमा सर्वाधिक चर्चा भएको एमसीसीबारे संसद अनविज्ञ देखिएको छ । तर, श्रीलंकाले अमेरिकासँग गरेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता यही अवस्थामा कार्यान्वयन नगर्ने स्पष्ट पारेको छ । श्रीलंकाको मन्त्रिपरिषदले उक्त सम्झौता अघि नबढाउने निर्णय गरेपछि लामो समयदेखिको विवाद सल्टिएको हो ।

नेपालमा जस्तै श्रीलंकामा पनि त्यहाँको सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले बुझाएको अन्तरिम प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई शुक्रबार हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो मन्त्रिपरिषदले गरेको समाचार बाहिर आएको छ । मन्त्रिपरिषद बैठकको प्रेस ब्रिफिङमा बोल्दै सरकारका प्रवक्ता मन्दुला गुनवर्द्धनाले वर्तमान अवस्थामा सम्झौता कार्यान्वयन नगर्ने बताउनुभयो ।

उहाँका अनुसार, ‘अन्तरिम प्रतिवेदनमा धेरै तत्वहरु समावेश छन् । सबैभन्दा पहिलो कुरा, सम्झौता नै अपारदर्शी तरिकले भएको छ । दोस्रो सम्झौतामा यस्ता परिच्छेदहरु छन् जसले श्रीलंकाको संविधान र अन्य कानूनको उल्लंघन गर्छन् ।

तेस्रो, सम्झौताका केही विषयले श्रीलंकाको राष्ट्रिय सुरक्षा तथा आर्थिक र सामाजिक क्रियाकलापमा खलल पुग्छ । चौंथो यसले देशको स्वतन्त्रता र सार्वभौमसत्तालाई पनि समस्यामा पार्न सक्छ ।’ तर, विवादित बुँदाहरुलाई लिएर अमेरिकासँग छलफल गर्न सरकार तयार रहेको पनि श्रलंकन सरकारले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ७ : ४९ बजे