७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

एसईईमा ५ लाख १० हजार विद्यार्थी, १९ सय ९५ परीक्षा केन्द्र



काठमाडौं ।
६ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा सहभागी हुन पाँच लाख १० हजार विद्यार्थीले फारम भरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, एसइईका अनुसार नियमिततर्फ चार लाख ९५ हजार र आंशिकतर्फ १५ हजार विद्यार्थीले परीक्षा आवेदन भरेका छन् । परीक्षा १७ चैतसम्म सञ्चालन हुनेछ ।
परीक्षामा सबैभन्दा बढी काठमाडौं र कम मनाङबाट सहभागी हुँदै छन् । काठमाडौंमा फारम भर्ने ३६ हजारभन्दा बढी छन् भने मनाङमा ५० विद्यार्थी मात्रै छन् । जिल्लाबाट आएका विवरणमा केहीको सिम्बोल नम्बर छुटेकाले विद्यार्थी संख्या बढ्न सक्ने पनिका कर्मचारीले बताए ।
गत वर्ष १० चैतबाट सुरु एसइईमा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिकतर्फ २४ हजार आठ सय १४ विद्यार्थी सहभागी थिए । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने भएपछि गत वर्षभन्दा यसपालि आंशिकतर्फ विद्यार्थी कम भएको हो ।
एसइईका लागि हाल सुरक्षा घेराभित्र जनक शिक्षा सामग्री केन्द्रमा प्रश्नपत्र छपाइ भइरहेको छ । शिक्षा ऐनअनुसार एसइई प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था भए पनि संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो । तर, प्रदेशअनुसार प्रश्नपत्र भने छुट्टाछुट्टै छापिएका छन् । गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो ।
यस वर्ष एसइईका परीक्षा केन्द्र भने बढाइएको छ । देशभर एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको छ । गत वर्ष एक हजार नौ सय ६९ केन्द्र थिए । तर, केन्द्रको संख्या भने सार्वजनिक गरेको छैन । –नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १६ फाल्गुन २०७६ शुक्रबार ००:००  ९ : १२ बजे