८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

रेडियो भ्वाइसले मनायो आठौँ बार्षिक उत्सव



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको पश्चिम क्षेत्र चन्द्रौटामा अवस्थित रेडियो भ्वाइसले आठौं बार्षिक उत्सव मनाएको छ । वि.सं. २०६७ सालमा स्थापना भएको रेडियो भ्वाइस त्यस क्षेत्रमा लोकप्रिय छ । रेडियाले आठौं बर्ष पूरा गरी नवौं बर्षमा प्रवेश गरेको अवसरमा विहीबार कार्यक्रम गरेको हो । हरेक बर्ष आफ्नो स्थापना दिवस मनाउँदै आएको रेडियो भ्वाइस संस्थागत रुपमा बलियो छ ।
हरेक बर्ष आफ्ना नियमित साधारण सभा गरेर संस्थागत विकास गर्दै आएको रेडियो सञ्चालक संस्था परिवर्तन सञ्चार गृहले आफ्नो सातौं साधारण सभा पनि विहीबार सम्पन्न गरेको छ । रेडियोको बार्षिक उत्सवसंगै परिवर्तन सञ्चार गृहको साधारण सभा पनि सम्पन्न भएको रेडियोका स्टेशन म्यानेजर गीता पौडेलले जानकारी दिनुभयो ।
शिवराज नगरपालिकाकी उप–प्रमुख शिवकुमारी थारुको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा दर्जन बढी सरोकारवालाहरुले रेडियोको सफलताको शुभकामना दिएका छन् । कार्यक्रममा बोल्दै नगर उप प्रमुख थारुले सरकारको चौथो अङ्गको रुपमा रहेका पत्रकारले समाजमा रहेका कुरिती र कुसंस्कृतिलाई अन्त्य गर्न तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
शिवराज नगरपालिका भित्र रहेका रेडियो र अन्य सञ्चार माध्यमले समय अनुसार समाज परिर्वतनमा भूमिका खेल्नुपर्ने बताउनुभयो । पढे लेखेका ब्यक्तिले फेसबुक तथा अनलाइन मार्फत समाचार तथा सुचना संदेश प्राप्त गर्ने भएपनि भित्रि गाउँ बस्तिका मानिसहरुको लागि रेडियो भरपर्दो सुचनाको सारथी रहेको उहाँले चर्चा गर्नुभयो । रेडियो सुन्नको लागि कुनै खर्च नलाग्ने हुँदा यसको लोकप्रियता बढीरहेको बताउनुभयो ।
जिल्ला हुलाक कार्यलयका प्रमुख शिवलाल बन्जाडेले रेडियो भनेको समाचार सम्प्रेषणमा छिटो र सजिलो माध्यम भएकोले यसको प्रभावकारिता राम्रो रहेको बताउनुभयो । रेडियोले सत्य, तथ्य समाचार बजाउनुपर्ने भन्दै कसैको दबावमा पर्न नहुने बताउनुभयो ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का जिल्ला समन्वय समिति संयोजक चन्द्रकान्त न्यौपानेले ससांरमा सञ्चारको महत्व सकेण्ड सेकेण्डमा बढ्दै गइरहेको र विश्वमा के भइरहेको छ भन्ने कुरा घरमै बसेर थाहा पाउने माध्यम रेडियो मात्र भएको बताउनुभयो । आजभोलि रेडियो सुन्ने माध्यम फरक फरक भएकोले पनि यसको महत्व दिनप्रतिदिन बढी रहेको बताउनुभयो । रेडियोले स्थानीय स्तरका समस्यालाई जनता माझ ल्याउने र सरोकारवालाको ध्यानाकर्षण गराउने भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय दलित प्रत्रकार सघं प्रदेश नं. ५ का अध्यक्ष चिन्ता परियारले सबै खालका जनतालाई समेट्ने सञ्चारको साधन रेडियो भएको बताउनुभयो । सबैले साथ लिएर रेडियोले समाजका नकारात्मक पक्षको चिरफार गर्नुपर्ने बताउनुभयो ।
परिवर्तन सञ्चार गृहका पूर्व अध्यक्ष जगत पौडेलले समुदाय र सरकार बीचको माध्यम बनेर काम गर्ने अवसर रेडियो र तिनका सञ्चारकर्मीलाई रहेको भन्दै जिम्मेवार पूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उद्योग बाणिज्य संघ चन्द्रौटाका वरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डेयले मिडियाकर्मी राजनीतिक दल तथा लगानीकर्ताको प्रभावमा रहन नहुने बताउँदै अव मिडियाहरु मर्च भई सशक्त माध्यम बनेर उदाउनुपर्नेमा जोड दिनुभयो ।
मानब अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष बिष्णु प्रसाद खतिवडाले मिडिया हाउसले निष्पक्ष भएर सुचना दिनुपर्ने बताउनु भयो ।
लामो समय देखि रेडियोसंग सहकार्य गर्दै आउनु भएका इन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपालका कार्यक्रम संयोजक राम बुढा मगरले समुदायमा पछाडि परेका समुदायको आवाज बोल्ने माध्यम रेडियो भएकाले रेडियो भ्वाइसले समुदायमा गरेको कामको प्रभाव सकरात्मक रहेको बताउनुभयो । आगामी दिनमा पनि यसैगरी सहकार्य गर्ने उहाँले बताउनुभयो ।
गृहका अध्यक्ष टुकप्रसाद अर्यालले रेडियोकर्मी अझ जिम्मेवार बनेर काम गर्नुपर्ने बताउँदै रेडियो भ्वाइस आगामी दिनमा अझ सशक्त बनेर उदाउने दाबी गर्नुभयो ।
कार्यक्रममा बिभिन्न समयमा रेडियोलाई सहयोग गर्दै आउनु भएका अतिथिहरुलाई मायाको चिनो स्वरुप रेडियो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  १० : ३९ बजे