८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महिला पनि चरेश तस्करीमा संलग्नः साढे १३ किलो चरेश सहित चार महिला पक्राउ



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा दुई छुट्टा छुट्टै स्थानबाट साढे १३ किलो चरेश सहित चार महिला पक्राउ परेका छन । कृष्णनगरबाट साढे ७ किलो चरेश सहित ३ महिला तथा शिवराज नगरपालिकाकोे– ५ चैनपुरबाट ६ किलो चरेश सहित एक जना पक्राउ परेका हुन् ।
बुधवार राति १० बजेतिर कृष्णनगर नगरपालिका– २ स्थित लिंक गेट हुँदै भारत जानेक्रममा साढे सात किलो चरेश सहित ३ महिला पक्राउ परेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रताप पौडेलले बताए । शंका लागेर चेकजाज गर्दा ती महिलाहरुबाट चरेश बरामद भएको थियो ।
पक्राउ पर्नेमा शिवराज नगरपालिका– बिजौरिकी योजना न्यौपाने, सुष्मा रोका मगर र लमही नगरपालिका– ८ शान्तिनगरकी मीना कुमारी घर्ती मगर रहेका छन् । यस्तै पक्राउ परेका ३ जनाको बयानका आधारमा शिबराज नगरपालिका– ५ की स्थानीय कमला पुन पक्राउ परेकी थिईन ।
तौलिहवाबाट खटिएको बिशेष टोेलीले बिहीवार दिउँसो प्लाष्टिकको झोला भित्र राखिएको अवस्थामा ६ किलो चरेश बरामद गरेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । पक्राउ परेका चारै जना उपर लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ८ : ०६ बजे