८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रम ओलीको कटाक्षः कांग्रेस केकमा राष्ट्रवाद खोज्न थाल्यो, मिडिया धुरुधुरु रोए



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाएका छन् ।

जन्मदिनका दिन यती समूहको प्रायोजनमा केक काटिएको र पार्टी आचारसंहिता विपरीत भएको भन्दै आलोचना भइरहेका बेला अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्ने केही विषय नपाएका बताए ।

वाग्मती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा ओलीले भने, “पत्रकारहरू दुर्गम गाउँमा बाटो, पानी बत्ती पुगेको लेख्दैनन् । बत्ती आएको खुसीयालीमा जनता नाचेको लेख्दैनन् । कतिको भात खाए भनेर खोज्दै हिँड्छन्, त्योचाहिँ लेख्छन् ।”

दुर्गम गाउँमा आफूले पानी, बत्ती, बिजुली, बैंकको शाखा लिएर गएको बताउँदै उनले भने, “जनताले त्यसकै खुसीयालीमा केक काटे । बाजा बजाए । नाचे । पत्रकारहरू त्यो लेख्दैनन् । कसले केक ल्यायो रु कतिको भात खाए भनेर लेखेछन् । जनताले केक ल्याएछन्, के राखिएको थियो मैले त हेर्दा पनि हेरिनँ ।

आफू नेवारको ज्वाइँ ऐला (रक्सी) ल्याउ भन्नु भएन । जे ल्याए त्यो छुन परिहाल्यो । एक डालो अण्डा, माछा ल्याएको थियो छुँदै पठाएँ ।”

उनले नेपालको नक्सा राखिएको केक काट्दा देश काटिएको रूपमा बुझिएको भन्दै युट्युव खोलेर अरू देशका चलनचल्ती हेर्न आग्रह गरे ।

“युट्युव खोल्नुहोस्, त्यहाँ मोदीको तस्बिर पनि आउँछ । मन परेको चिज केकमा राखेर काट्ने चलन नै हो । मेरो तस्बिर पनि केकमा राखेर काटेका छन् । मै काटिएँ त !,” उनको ठट्यौली थियो ।
उनले प्रतिपक्षीले विरोधको मुद्दा नै नपाएपछि केकमा राष्ट्रवाद खोज्न थालेको आरोप लगाए ।

“भारतले नाकाबन्दी लगाउँदा बोलने । आफू भोकभोकै पर्दा पनि बोलेन । चुल्हो नबल्दा बोलेन । अहिले केकमा राष्ट्रवाद खोज्न थालेको छ । नेपाली कांग्रेस केक राष्ट्रवादी हो । नाकाबन्दीका बेला नाकाबन्दी भयो पनि भन्न नसक्ने केको राष्ट्रवादी ! म नेपाली कांग्रेसलाई भन्न चाहन्छु यस्तो पाराले राजनीति हुँदैन,” उनले भने ।

उनले जन्मदिन प्रकरणमा कांग्रेसको विरोधलाई बेकारको तमासाको संज्ञा दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : ०४ बजे