२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मगर राष्ट्रिय एकता दिवसः प्रदेश नामाकरणमा पहिचानको माग



दीपा महत, चारनम्बर ।
३८ औं मगर राष्ट्रिय एकता दिवसको अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा भब्य कार्यक्रम गरी मनाइएको छ । हरेक बर्ष मगर समुदायले मनाउँदै आएका यो दिवस ‘मगर एकता दिवस भब्य रुपले मनाऔं, प्रदेश ५ लाई मगरात पहिचान सहितको नामाकरण गर्ने अभियानमा लागौ’ भन्ने मूल नाराका साथ यो बर्ष पनि मनाइएको हो ।
दिवसको अवसरमा वाणगंगा नगरपालिका १० धरमपुरमा आयोजना गरिएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले मगरहरु गोलबद्ध भई आफ्नो हक अधिकारको लागि लड्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले मगर समुदायको इतिहास गर्विलो रहेको भन्दै यसको संरक्षण, सम्बर्धनमा लाग्नुपर्ने बताउनुभयो । मगर समुदायको आफ्नो भाषा, कला, संस्कृति र रितिरिवाज रहेको भन्दै यसको जर्गेना गर्नका लागि युवापिढी एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । संविधानले सबै जातजाती, भाषा, धर्म संस्कृतिलाई उत्तिकै समान महत्व दिएको भन्दै यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रिय सदस्य लक्ष्मी सारुले अब आदीवासी जनजातीहरु एक भएर आफ्नो हक अधिकारका लागि लड्नुपर्ने बेला भएको बताउनुभयो ।
नेपाल मगर संघ प्रदेश ५ का सदस्य कुल बहादुर सोमैले प्रदेश ५ मा मगर जातिको बाहुल्यता रहेको भन्दै प्रदेशको नाम मगरात प्रदेश राख्न माग गर्नुभयो ।
नेपाली कांग्रेस नगर सभापति विष्णु थापा मगरले वर्षौ देखि एकताको कुरा गरेपनि मगरजातीहरु अझै सम्म गोलबद्ध हुन नसक्नु दुःखद भएको बताउनुभयो । राजनीति खिचातानीका कारण मगर समुदाय एकजुट हुन नसकेको भन्दै अब राजनीति भन्दा माथि उठेर जातिय पहिचानका लागि लड्नुपर्ने बेला आएको बताउनुभयो ।
जनमुक्ती पार्टी नेपाल कपिलवस्तुका अध्यक्ष अमर बहादुर थापा मगरले प्रदेश ५ को नाम मगरात प्रदेश राख्न माग गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा नेता यमप्रसाद पोख्रेलले राष्ट्रिय मगर एकता दिवसको शुभकामना दिनुभयो । एक आपसमा सद्भाव कायम गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई थियो ।
नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाइले राज्य सबैको भएकाले राज्ले सबै जातजातीको कुरा सुनेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।
नेपाल मगर संघ वाणगंगा नगर अध्यक्ष पिताम्बर सिंजालीले विभिन्न मनमुटावलाई चिर्दै मगर समुदायहरु एकबद्ध हुनुपर्ने बताउनुभयो । विभिन्न कला संस्कृतीको धनी मगर समुदायको संस्कृती संरक्षणमा अबका युवा नलागे संस्कृती हराउने भन्दै यसको संरक्षणमा लाग्न सबै युवालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष राम बिहारी थारु, नेपाल मगर संघ जिल्ला सदस्य झमन सिंजाली लगायतले बोल्दै राष्ट्रिय एकताले सम्पूर्ण मगर समुदायलाई एकताबद्ध गर्ने बताउनुभयो ।
नेपाल मगर संघ वडा सचिव गोबिन्द थापा मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन मिना राना मगरले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला भित्रका सयौ मगर समुदायको उपस्थिती रहेको थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम तर्फ विभिन्न क्लव तथा वडाको तर्फबाट कौडा नाच प्रस्तुत गरिएको थियो भने मगर समुदायका विभिन्न खानाका परिकार पनि राखिएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : ५१ बजे