८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

‘म सफा गर्छु मेरो नगर’ को दशौं चरण भलवाडमा



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले हरेक महिनाको १ र १५ गते सञ्चालन गर्दै आएको ‘म सफा गर्छु मेरो नगर’ अभियान अन्तरगत विहीबार भलवाडमा सरसफाई गरिएको छ ।

सरोकारवालाको मुख्य उपस्थितीमा हुने अभियानको आज बाणगंगा ९ को भलवाडका विभिन्न स्थानको सरसफाई गरिएको छ । भलवाडको सेमरा हाटबजारबाट सुरु भएको सरसफाई अभियान त्यस आसपासका विभिन्न स्थानमा सञ्चालन गरिएको थियो ।

अभियानको शुभारम्भ गर्दै नगर प्रमुख मंगल प्रसाद थारुले सरसफाई अभियान नगरको मात्र नभई हरेक नगरबासीको भएको भन्दै यसमा सबैको सहभागीता अपरिहार्य भएको बताउनुभयो । भौतिक विकासले मात्र नगरको समृद्धि नहुने भन्दै नगर प्रमुख थारुले सरसफाई पनि महत्वपूर्ण आधार भएकोले सरसफाई अभियान सञ्चालन गरिएको बताउनुभयो । साथै उक्त अवसरमा उहाँले स्वास्थ्य चौकीमा औषधीको अभाव हुन नदिने पनि प्रतिवद्धता जनाउनुभएको छ ।

नगरपालिकाका सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालले सरसफाई अभियानमा नगरबासीको सहभागीता उल्लेख्य देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । सरसफाई व्यक्तिगत जीवनमा पनि महत्वपूर्ण रहने भन्दै सबै यसमा संवेदनशिल हुनुपर्ने बताउनुभयो । फोहरकै कारण विभिन्न रोगव्याथी, महामारी निम्तिने भन्दै सरसफाई मार्फत जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।

वडा अध्यक्ष धुव्र बेल्बासेले कार्यक्रमलाई सफल बनाउन सक्रिय रुपमा लागेकाले सम्पूर्णमा धन्यबाद व्यक्त गर्दै एउटाले मात्रै चाहेर नभई सबैले आ–आफनो क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने भन्दै योअभियान नगरको सुरुवातसंगै आफनो वडाका टोलहरुमा नियमित रुपमा भइरहेको जानकारी दिनुभयो ।

नगरका स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेको सञ्चालनमा भएको औपचारिक कार्यक्रम पश्चात दुई घण्टा हाट बजार र त्यस आसपासका क्षेत्रमा फोहर टिपेर सरसफाई अभियान सञ्चालन गरिएको थियो ।

अभियानमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, भलवाड स्वास्थ्य चौकी प्रमुख जितविकास रायमाझी, कार्यपालिका सदस्य केशरा गुरुङ, वडा सदस्यहरु नुमलाल थारु, भिमबहादुर पुन, वडा सचिव सन्तोषकुमार बैठा, नेकपाका वडा अध्यक्ष विन्द्रबहादुर गुरुङ, नेपाली कांग्रेस भलवाड इकाई सभापति दिपक कुमार थापा, ९ बटै टोलका टोल विकास समितिका अध्यक्ष लगायत दर्जनौं सरोकारवाला र भलवाडबासीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : ४६ बजे