८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण



तम्घास ।

मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ।

स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएर सफल परिक्षण गरेको हो । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकलाई फुलमाला लगाएर सफलताको शुभकामना दिएका थिए ।

मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष २०७६/७७ मा दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

कसुरेडाँडा समुन्द्री सतहबाट दुई हजार १५० मिटरको उचाइमा छ । कसुरेडाँडा प्याराग्लाइडिङको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए। लामो र छोटो दूरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए ।

लामो दूरीका लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दूरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताए । उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ विस्थापित हुने अवस्था रहेकाले भविष्यमा गुल्मीलाई प्याराग्लाइडिङको हबको रुपमा विकास गर्न सकिने बताए ।

स्थानीय रुमा भुसाल प्याराग्लाइडिङ देखेर अचम्म लागेको बताइन् । ‘आकाशमा गिद्धजस्तै मान्छे उड्ने कस्तो अचम्म १ मेरो आङ नै सिरिङ्ग गर्‍यो’, उनले भनिन्, ‘मान्छेले नजानेको केही रहेनछ ।’

त्यस्तै प्याराग्लाइडिङ हुने खबर पाएर कसुरे पुगेका ६५ वर्षका भोजबहादुर चन्द पनि चकित भए । उनले बाँदर नजाने भिरबाट मान्छे उड्दा आश्चर्य लागेको बताए। चन्दले भने, ‘यो डाँडो रमाइलो होला भनेर कसैले सोचेका थिएनन् ।’ (रासस)

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ९ : २२ बजे