काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजमा दिने कुनै पनि निर्णय आफ्नो पालामा नभएको बताएका छन् ।
आफ्नो सहभागिताबिना नै नाम जोडेर गरिएका प्रचारप्रति गम्भीर आपत्ति रहेको देउवाले उल्लेख गरेका छन् ।
नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार ट्रष्टको तर्फबाट श्वेतपत्र जारी गर्दै देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, जनार्द्धन शर्माको पालामा दरबारमार्ग र ताहचलको जग्गा लिजमा दिइएको उल्लेख गरेका थिए।
उक्त श्वेतपत्रले सभापति देउवाले भ्रम छर्ने काम भएको भन्दै विरोध गरेका छन् ।
‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन,’ देउवाले भनेका छन्, ‘मेरो सहभागिताबेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ ।’
देउवाले ट्रष्टका कुनै पनि निर्णयमा आफू सरिक नभएको दाबी गरेका छन् ।
‘०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो । अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ,’ देउवाले बुधबार निकालेको विज्ञप्तिमा भनिएको छ ।
ट्रष्टको श्वेतपत्रलाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक अडिओ टेपबाट ध्यान अन्यत्र मोड्न खोजिएको रूपमा आफूले लिएको देउवाको भनाइ छ ।
‘यो प्रकरणलाई मैले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडिओ, नेपाल ट्रष्टअन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता एवं अन्य प्रकरणबाट ध्यान मोड्ने प्रयत्नका रूपमा लिएको छु,’ देउवाले भनेका छन् ।
अडिओ टेप सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका थिए ।
कमिसनतन्त्रका अनेक घटनाक्रमका विरुद्ध दबाबलाई निरन्तरता दिन देउवाले अपिल पनि गरेका छन् ।
प्रतिक्रिया