एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत नकआउट चरणको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ । अन्तिम १६ को पहिलो लेग अन्तर्गत इटालियन क्लब नापोलीसँग भएको खेलमा स्पेनिस क्लब बार्सिलोना १–१ को बराबरीमा रोकिएको हो ।
नापोलीको मैदानमा भएको खेलमा बार्सिलोना पहिलो हाफमा १–० ले पछि परेको थियो । घरेलु टोली नापोलीका लागि ३० औँ मिनेटमा ड्राइज मर्टेन्सले गोल गरेका हुन् ।
पछि परेको बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन् । उनले ५७ औँ मिनेटमा बार्सिलोनालाई हारबाट जोगाउने गोल गरेका हुन् ।
८९ औँ मिनेटमा अटुरो भिडाल दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही मिनेट बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग आउँदो मार्च १८ मा बार्सिलोनाको मैदानमा हुनेछ ।
प्रतिक्रिया