२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

‘स्नातकपछि छोराछोरी पढाउन खर्च गर्दिनँ’



रोल्पा ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त) ले आफ्ना एक छोरा र एक छोरीलाई स्नातक तहपछि खर्च दिएर नपढाउने घोषणा गनैुभएको छ । मन्त्री पुनले स्नातकपछि आफ्ना छोराछोरीलाई काममा लाग्न र कामबाट आएको आम्दानीले पढ्न भनिसकेको बताउनुभयो ।
‘मेरा एक छोरा र छोरीलाई बीएसम्म पढाउँछु’, रोल्पाको गंगादेव गाउँपालिका राँकस्थित जनज्योति माविको भवन हस्तान्तरण तथा पुरस्कार वितरण समारोहमा मन्त्री पुनले मंगलबार भन्नुभयो, ‘म सक्ने भए पनि छोराछोरीलाई पढ्नका लागि खर्च दिन्नँ । म आर्थिक दायित्व लिन सक्दिनँ आफैं कमाएर पढ्नू भनिसकेको छु ।’
मन्त्री पुनले स्नातक तह अध्ययन गरेका विद्यार्थीले आफैं काम गरेर पढ्न सक्ने भए पनि नेपालमा त्यसो हुन नसक्नु बिडम्बना भएको बताउनुभयो । उहाले आफूले जस्तै छोराछोरीलाई आफैं कमाएर पढ्नका लागि प्रशिक्षित गर्न अभिभावकहरूलाई आग्रह गर्नुभयोे ।
विदेशतिर १८ वर्ष उमेर कटेका छोराछोरी बाबुआमासँग नबस्ने गरेको भन्दै मन्त्री पुनले नेपालमा भने काम गर्ने उमेरका युवा आमाबाबुको कमाइमा बाँच्ने गरेको चर्चा गर्नुभयो ।
आफू एक कक्षामा भर्ना हुँदा गाउँबाट डेढ घण्टा खाली खुट्टा पैदल हिंडेर स्कुल जाने गरेको स्मरण गर्दै मन्त्री पुनले अहिले टोलटोलमा स्कुल रहेको भन्दै त्यसलाई परिवर्तन र क्रान्तिसँग तुलना गर्नुभयो ।
गलत शिक्षा नीतिका कारण विद्यालय र क्याम्पस बेरोजगार उत्पादन गर्ने थलोका रुपमा रुपान्तरण भएकाले वर्तमान सरकारले शिक्षालाई व्यवहार, सीप, श्रम र दक्षतासँग जोडेर शिक्षा नीति विस्तार गरेको मन्त्री पुनको भनाइ थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६ बुधबार ००:००  ६ : ०२ बजे