८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

हाम्रो अन्तिम लक्ष्य लोकतन्त्रलाई संस्थागत गर्नु होः बिकल राई



थानेश्वर अधिकारी, कपिलवस्तु ।
‘सुशासनका लागि युवा’ भन्ने अभियानका साथ कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका जितपुर स्थित होटल अन्नपुर्णमा तीन दिने कार्यशाला सम्पन्न भएको छ ।
युएसएआईडी र आईफेसको सहयोग तथा नेपाल युवा संस्था संजाल (आयोन)को आयोजनामा मंगलबारबाट सुरु भएको कार्यशालामा कपिलवस्तु जिल्ला भित्रका २५ युवाहरुको सहभागिता रहेको थियो।
आगामी निर्वाचनका लागि ३५ लाख युवाहरुलाई मतदानमा सहभागी बनाई कुशल नेतृत्व छनौट गर्ने अभियान स्वरुप आयोनले आगामी २ वर्षका लागि यो कार्यक्रम संचालन गरेको हो ।
अबको २०७९ मा सम्पन्न हुन गईरहेको निर्वाचनमा नयाँ नया ३५ लाख युवा थपिने नेपाल युवा संस्था संजाल आयोनका कार्यसमिती सदस्य बिकल राई बताउनुभयो ।
निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले लोकतन्त्रमा निर्वाचननै जनताको सपना र विश्वासलाइ मुर्तरुप दिने एकमात्र कडि रहेको उहाले बताउनुभयो ।
२०७९ मा हुने उक्त निर्वाचनमा विशेषत नया मतदाताहरुलाइ जिम्मेवार नागरिक बनाउने उद्देश्य सहित सुशासनका लागि युवा नामक यो कार्यशाला आयोजना गरिएको हो।
लोकतन्त्र र सुशासनको क्षेत्रमा विगत २ वर्षदेखी कार्यरत राईले भन्नुभयो,‘ हाम्रो अन्तिम लक्ष्य भनेको लोकतन्त्रलाई संस्थागत गर्नु हो। ’
उहाले व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, सामाजिक न्याय र समृद्धि सहितको लोकतन्त्र सुनिश्चित नभएसम्म यो अभियान जारी रहने बताउनुभयो। राई विगत दुई वर्षदेखि लोकतन्त्र र सुशासनको क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
उक्त कार्यशाला पश्चात दुई वर्ष सम्म युवाहरु समुदाय, क्याम्पस र स्थानीय तहमा केन्दृत रहि युवाहरुसङ्ग लोकतन्त्र र सुशासनको सुदृढीकरणका निमित्त काम गर्ने छन।
बिहिबार सम्पन्न भएको कार्यशाला आयोनका उपाध्यक्ष थानेश्वर अधिकारी, कार्यसमिति सदस्य बिकल राई, चन्दन शाह र ज्योति फुयाँल ले सहजीकरण गर्नुभएको थियो।

प्रकाशित मिति : १३ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : ४१ बजे