८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दाङ पुगेर महराले भने, ‘षडयन्त्रकारीको भुमरीलाई जितेर आएँ’



दाङ ।
संसद सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा अदालतबाट सफाइ पाएपछि मतदातासँग भेटघाट गर्न दाङ आइपुगेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का मतदातासँग भेटघाट गर्दै उनले आफू षडयन्त्रकारीको भुमरीलाई जितेर आएको बताए ।
महरालाई जिल्लाको प्रवेशद्वार भालुबाङ, लमही, घोराहीलगायतका स्थानमा मतदाताले भव्य स्वागत गरेका थिए । मतदाताले भव्य स्वागत गरेपछि महरा निकै प्रफुल्लितसमेत देखिन्थे । विभिन्न ठाउँँमा आयोजना गरिएका स्वागत कार्यक्रमहरूमा महराले थोरै मात्र बोले । हरेक स्थानमा उनले पाँच मिनेटभन्दा बढी बोलेनन् ।
तीन महिना जेलमा बिताएर आएका महराले आफूमाथि लागेको आरोपका विषयमा आन्तरिक कुरा खोल्लान् भन्ने जनअपेक्षा रहे पनि उनले त्यस विषयमा खासै मुख खोलेनन्। घोराहीमा मतदाताहरूलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई षडयन्त्रकारीहरूले भुमरीमा पार्न खोजेका छन् । तर म अहिले त्यो भुमरी जितेर आएको छु ।’ उनले आफूलाई जनताको अपार माया रहेको भन्दै जनताको तागतको अगाडि कसैको केही नलाग्ने बताए ।
एमसिसीसँग जोडिएको विषयमा भने उनले सांकेतिक रूपमा राष्ट्रिय स्वाधिनताका विषयमा आफू जहिले पनि लड्ने बताए । ‘म राष्ट्रियताका लागि हिजो पनि लडेँ, आज पनि लड्दै छु र भोलि पनि लड्नेछु,’ उनले भने, ‘यस विषयमा कुनै पनि किसिमको सम्झौता गर्दिनँ ।’ पूर्वसभामुख महरालाई उनी सम्बद्ध पार्टी नेकपाले भने कुनै औपचारिक स्वागत कार्यक्रम आयोजना गरेको छैन । महरा मतदातामाझ अनौपचारिक भेटघाट गर्दै करिब एक हप्ता रहने बताइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ७ : ५० बजे