८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यी तीन नायकः जसले आफ्नो गास काटेर जग्गा दान दिए, स्वास्थ्य चौकी बन्यो



मायादेवी अनलाइन, चारनम्बर ।
मान्छेलाई सम्पत्तिको अभाव नमरुन्जेलसम्म हुन्छ । बाचुञ्जेल मान्छे धन सम्पत्तिकै लागि मरिमेटि गर्छ । तर, कपिलवस्तु निग्लिहवामा तीन यस्ता मनकारी व्यक्ति भेटिए, जसले आफ्नो अन्न फल्ने जग्गा स्वास्थ्य चौकी निर्माणका लागि निशुल्क दिए । कपिलवस्तु नगरपालिका वडा नं. ९ का मुन्निलाल केवट, कृष्ण प्रसाद सापकोटा र चुन्नीलाल केवटले ७ कठ्ठा १ धुर निशुल्क जग्गा दिएर स्वास्थ्य चौकी निर्माण भएको छ ।
सार्वजनिक जग्गा अभावका कारण साघुँरो घरबाट सञ्चालित स्वास्थ्य चौकी यी तीन व्यक्तिले जग्गा दान दिएपछि सुविधा सम्पन्न स्वास्थ्य चौकीमा रुपान्तरण भएको छ । झण्डै २ करोड ६० लाखमा निर्माण भएको अस्पताल सोमबार एक कार्यक्रममा बीच प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले समुद्घाटन गर्नुभयो ।
जग्गादान गरेर महानता देखाउने यी तीन मनकारीलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांश बक्ताले यी तीन व्यक्तिको खुलेरै प्रशंसा गरे ।
घरमा जग्गा १३ कठ्ठा जग्गा रहेपनि स्वास्थ्य चौकीका लागि डेढ कठ्ठा जग्गा दान गरेको मुन्नीलालले बताउनुभयो । घरमा धेरै जग्गा भएर नदिएको भन्दै स्वास्थ्य चौकीका लागि मनैबाट दान दिन मन लागेर दिएको उहाँले जनाउनुभयो ।
स्वास्थ्य चौकीका लागि मुन्निलाल केवटले डेढ कठ्ठा, चुन्निलाल केवटले तीन कठ्ठा र कृष्ण सामपकोटाले दुई कठ्ठा जग्गा दिनुभएको हो ।
स्वास्थ्य चौकी इन्चार्ज हरि राम चौधरीले तीन जनाको जग्गा सहयोगले नै सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुन सकेको बताउनुभयो । जग्गा अभावका कारण बर्षौसम्म स्वास्थ्य चौकी सामान्य कोठाबाट सञ्चालन गर्नुपरेको भन्दै अब यसको अन्त्य भएको बताउनुभयो ।
भवन उद्घाटन समारोहका मन्त्री बराल, प्रदेश सांसद विष्णु पन्थी, जिल्ला समन्वय समितिकी उपसभापति तारावती चौधरी, कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता, समाजबादी पार्टीका नेता अब्दुल रसिद, अब्दुल सत्तार खाँ लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ५ : ३७ बजे