८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

‘बेला न कुवेला संविधान संशोधनका कुराः’ कार्यदलमा बस्‍न नेम्वाङ र देवकोटाद्वारा अस्वीकार



काठमाडौँ ।
संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गरेका छन् । सोमबार बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाएका थिए । उक्त भेटमा दुवैले कार्यदलमा बस्न असहमति जनाएका हुन् ।

‘संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो । यो गोप्य राख्‍ने कुरै होइन । जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो । संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन । त्यसमा मेरो सहमति छैन,’ पत्रकारहरुसँगको कुराकानीमा नेम्वाङले भने ।

यस्तै नेता देवकोटाले देशको शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भनेर सचिवालय सदस्य नेपालको निवासमा गएको बताए । ‘शासकीय स्वरुप र निर्वाचन प्रणालीको बारेमा छलफलका लागि भन्ने मनाशयले गएको थिएँ । राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ,’ उनले भने।

लहडका आधारमा भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने देवकोटाले बताए । आफूहरुको तर्कमा सचिवालय सदस्य नेपाल समेत सकारात्मक भएको नेम्वाङको दाबी थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ३ : ४४ बजे