८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मन्त्री बरालको चासोमा वाणगंगा, आवश्यक बजेट पार्ने आश्वासन



मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले वाणगंगाका विभिन्न पर्यटकीय स्थल, शिक्षा र स्वास्थ्यसंग सम्बन्धित निर्माणधिन पूर्वाधारको सोमबार विहान स्थलगत अवलोकन गर्नुभएको छ । कपिलवस्तुको विकासमा गम्भिर रुपमा चासो राख्दै आउनुभएका मन्त्री बरालले नेपालकै प्रमुख पर्यटकीय गन्तव्य जगदीशपुर ताल, जिल्लाकै प्रमुख पर्यटकीय स्थल नन्दनगर, कपिलवस्तु सामुदायिक अस्पतालले निर्माण गर्न थालेको ब्लड बैंकको भवन र ओदारीमा बन्न लागेको कभर्ड हलको स्थलगत अवलोकन गर्नुभएको हो ।

कैलाश आश्रम नन्दनगरको अवलोकन पश्चात लिखित प्रतिवद्धता जनाउदै मन्त्री बराल ।


कपिलवस्तुका प्रदेश सभा सदस्य तथा लोकप्रिय नेता विष्णु पन्थीको पहलमा प्रदेश निर्वाचन क्षेत्र नं. १ अन्तर्रगत वाणगंगामा निर्माणधिन केही महत्वपूर्ण विकास निर्माणको मन्त्री बरालले स्थलगत अवलोकन गर्नुभएको हो ।


कैलाश आश्रम नन्दनगरको अवलोकन तथा निरिक्षण गर्दै मन्त्री बरालले यस स्थानबारे गम्भिर चासो राख्नुभएको छ । नन्दनगरमा अध्ययन अध्यापन हुँदै आएको गुरुकुल शिक्षाबारे चासो राख्दै उहाँले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । धर्म, संस्कृती र नैतिक शिक्षा अहिले अपरिहार्य रहेको भन्दै धर्म बेचेर पैसा कमाउने धन्दाको अन्त्य गर्ने खालका दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । नन्दनगरमा संस्कृतीसंगै आयुर्वेदिक शिक्षाको पनि अध्यापन गर्ने गरी अगाडी बढ्न उहाँले आग्रह गर्नुभयो । अहिले नेपालमा आयुर्वेदिक शिक्षाको आवश्यकता बढ्दै जान थालेको उहाँको चर्चा थियो ।


नन्दनगरको विकासबारे प्रदेश सांसद पन्थी र वाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष विष्णु पौडेल लगायतले मन्त्री बराललाई जानकारी गराउनुभएको थियो ।


यसैगरी मन्त्रीसहितको टोलीले कपिलवस्तु सामुदायिक अस्पतालले निर्माण गर्दै गरेको ब्लड बैंकको भवन पनि अवलोकन गरेको छ । अस्पताल पछाडि बन्न थालेको सुविधा सम्पन्न ब्लड बैंक निर्माण गर्दा केही आर्थिक समस्या परेको भन्दै नेकपाका वाणगंगा नगर कमिटी अध्यक्ष तथा अस्पतालका निवर्तमान अध्यक्ष शंकर पाण्डेले मन्त्री बरालसंग सहयोग माग्नुभएको थियो । पाण्डे लगायतको टोलीको कुरा सुन्दै मन्त्रीले प्रदेशले ब्लड बैंकलाई चाहिने ४० लाख बराबरका महत्वपूर्ण सामग्री दिने आश्वासन दिनुभएको छ ।

चारनम्बरमा बन्दै गरेको ब्लड बैंकको अवलोकन पश्चात सञ्चारकर्मीसंग कुराकानी गर्दै मन्त्री बराल लगायतको टोली ।


वडा नं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल लगायतको अगुवाईमा निर्माणधिन कर्भड हलको पनि मन्त्री बराल र सांसद पन्थी लगायतको टोलीले स्थलगत अवलोकन गरेको थियो । नगरमै पहिलो पटक बन्न लागेको कर्भड हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष अर्यालले कर्भड हल निर्माणमा प्रदेशबाट सहयोग आउनेमा आशा व्यक्त गर्नुभएको थियो । स्थानीय वडा र नगर सरकार तथा नागरिकको आर्थिक सहयोगबाट बन्न लागेको कर्भड हलमा केही रकम अपुग भएको भन्दै मन्त्रालयबाट सहयोग आउनेमा उहाँले आशा व्यक्त गर्नुभएको थियो । मन्त्री बरालले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

ओदारीमा निर्माणधिन कर्भड हल ।


साथै मन्त्री बराललाई जगदीशपुर तालको पनि अवलोकन गराइएको छ । प्रदेश सांसद पन्थीले जगदीशपुर तालको अवलोकन गराउँदै यस तालको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो । नेपालकै प्रमुख पर्यटकीय गन्तव्य सूचीमा रहेको जगदीशपुर ताललाई प्रदेश सरकारले पनि मुख्य प्राथमिकता राखेको सांसद पन्थीले अवगत गराउनुभएको थियो । तालको अवलोकन गर्दै मन्त्री बरालले स्थानीय नागरिकको समृद्धिसंग जोडेर काम अगाडी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । उक्त अवसरमा जगदीशपुर जलाशय मञ्चका अध्यक्ष ललित गुरुङले मन्त्री बराललाई तालको भावि कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो ।

जगदीशपुर तालको अवलोकन गर्दै मन्त्री लगायतको टोली ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ३ : ३० बजे