८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शिवराजमा खेलकुद महोत्सवको भव्य उद्घाटन



मायादेवी अनलाइन, चन्द्रौटा ।
नगर विकास समिति शिवराज नगरपालिका कपिलवस्तुको आयोजनामा खेलकुद महोत्सव शुरु भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कप एउटै मञ्चबाट एकैसाथ उद्घाटन गरिएको छ । विगतका वर्षमा यी तीन प्रतियोगिता अलग अलग खेलाइएपनि यस पटक भने एकैसाथ संचालन गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत मेयर कपको लागि ६ लाख ५० हजार, उपमेयर कपको लागि २ लाख र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको लागि १ लाख बजेट विनियोजन गरेको थियो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोतामा कबड्डी, एथलेटिक्स, दौड, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभलिङ्ग थ्रो लगायत १७ विधामा ३४ खेल हुने छ । मेयर कपमा पुरुषका लागि फुटबल, भलिबल र क्रिकेट तथा उपमेयर कपमा महिलातर्फका फुटबल र कराँते प्रतियोगिता हुने नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिएका छन् । मेयर कप, उपमेयर कप अन्तर्गत फुटबल खेलमा १२ समुह, भलिबल खेलमा ३ समुह र क्रिकेटमा २ समूह दर्ता भएका छन् । यस्तै कराँतेमा २ समूह दर्ता भएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख पन्थीले बताए । शिवराज नगरपालिका ५ चन्द्रौटास्थित राष्ट्रिय माविको खेलमैदान, समिति चोक खेलमैदान र शिवपुर खेलमैदानमा प्रतियोगिता हुने बताइएको छ ।
खेल उद्घाटन गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले नगरपालिकाले खेलाडीहरुलाई संरक्षण गर्दै राष्ट्रिय स्तरसम्म पु¥याउने उद्घोष गरे । खेलले नगरभित्रका खेलाडीको क्षमता विकास हुने नगरप्रमुख नेत्रराज अधिकारीले बताए । सवै वडा तथा माध्यमिक तहका विद्यार्थीहरुलाई खेलमा सहभागी गराइएको अधिकारीले जनाए । “यो स्थानीय स्तरको खेल हो, यसैबाट प्रदेश हँुदै राष्ट्रिय खेलाडी बन्न सकिन्छ” –नगरप्रमुख अधिकारीले भने । खेललाई मर्यादित, सभ्य र भव्य बनाउनुपर्ने अधिकारीले जिकिर गरे । उपप्रमुख शिवकुमारी थारुले मानव जीवनलाई स्वस्थ, सुखी र अनुशासित बनाउन खेलकूदको ठूलो महत्व रहेको बताइन् । उपप्रमुख थारुले खेललाई सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न गर्न सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ३ का अध्यक्ष टेकलाल सापकोटा, जिल्ला खेलकूद विकास समितिका मिनप्रसाद पोख्रेल, नेकपाका सरोज पौडेल, नेपाली कांग्रेसका नगरसभापति मधु पोख्रेल, समाजवादी पार्टीका नगर अध्यक्ष कृष्णकुमार चौधरी, शिक्षक महासंघ शिवराज नगर अध्यक्ष मुक्तिनाथ पोख्रेल, राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद खतिवडा लगायतले खेललाई शान्तिपूर्ण, मर्यादित र धाँधली रहित बनाउनुपर्ने धारणा सहित शुभकामना दिएका थिए ।


खेल महोत्सवको पहिलो दिन ११ खेल
कपिलवस्तुको चन्द्रौटामा आइतबारदेखि शुरु खेलकूद महोत्सवको पहिलो दिन ११ वटा खेल सम्पन्न भएका छन् । जसमा १० वटा फाइनल खेल सम्पन्न भएका छन् भने पुरुषतर्फ २सय मिटर दौडको हिट प्रतियोगिता भएको आयोजकले जनाएको छ ।
नगरप्रमुख नेत्रराज अधिकारीले सटफुट फालेर खेल उद्घाटन गरेसँगै खेलकूद प्रतियोगिता शुरुवात गरिएको थियो । खेलको पहिलो दिन सटफुटमा छात्र छात्राको फाइनल खेल सम्पन्न भएको नगर खेलकूद विकास समिति संयोजक नेत्र प्रसाद बेल्बासेले जानकारी दिए । सटफुट प्रतियोगितामा छात्रातर्फ समयथान मावि खरेन्द्रपुरकी छात्रा सीमा भुसालले प्रथम स्थान ल्याउन सफल भइन् । यस्तै नेपाल आदर्श मावि शिवपुरकी सीमा वि.क. दोस्रो र प्रकाश मावि सुन्दरीडाँडाकी माधुरी राहुमगर तृतीय स्थानमा सीमित भइन् । छात्रतर्फको सटफुट प्रतियोगितामा नेपाल आदर्श मावि शिवपुरका सुकई थारु प्रथम, समयथान मावि खरेन्द्रपुरका मजिबुल्ला अन्सारी द्वितीय र प्रकाश मावि सुन्दरीडाँडाका कालिदास खत्री तृतीय भए ।
ज्याभलिङ थ्रोको फाइनल प्रतियोगितामा छात्रातर्फ नेपाल आदर्श शिवपुरकी छात्रा सीमा वि.क.ले प्रथम स्थान हात पार्न सफल भइन् । छात्रतर्फ भने नेपाल आदर्शकै छात्र विष्णु बैजालीले प्रथम स्थान ओगट्न सफल भए । यस्तै प्रकाश मावि सुन्दरीडाँडाका बृजेश थारुले दोस्रो स्थानमा समेटिए ।
यता २सय मिटर दौडमा छात्रातर्फ नेपाल आदर्श मावि शिवपुरकी हिरा के.सी. प्रथम, समयथान मावि खरेन्द्रपुरकी कमला पाण्डे दोस्रो र प्रकाश मावि सुन्दरीडाँडाकी सुप्रिया क्षेत्री तृतीय भएका थिए । २सय मिटरको दौडमा छात्रतर्फ भने हिट खेल भएको छ । हिटतर्फ राष्ट्रिय मावि चन्द्रौटाका महेश चौधरी र त्रिभुवन आदर्श मावि पिपरीका बाबुलाल चौधरी प्रथम भएका छन् । यस्तै रंगीलाल मावि सडवाका रज्जाक मनिहार र नेपाल आदर्श मावि शिवपुरका सञ्जय सुनार दोस्रो स्थान ल्याएका छन् भने बाल शिक्षा मावि हल्लानगरका राहुल चौधरी र प्रकाश मावि सुन्दरीडाँडाका रमेश थारु तृतीय भएको आयोजकले जनाएको छ ।
४सय मिटर दौडको फाइनल खेलमा छात्रातर्फ नेपाल आदर्श मावि शिवपुरकी हिरा के.सी. प्रथम, प्रकाश मावि सुन्दरीडाँडाकी विदेशनी चौधरी द्वितीय र राष्ट्रिय मावि चन्द्रौटाकी गोमा कुँवर तृतीय पुरस्कारको दाबेदार बनेका छन् । यस्तै छात्रतर्फ प्रकाश मावि सुन्दरीडाँडाका श्याम चौधरी पहिलो, समयथान मावि खरेन्द्रपुरका मंगल थारु दोस्रो र राष्ट्रिय मावि चन्द्रौटाका सन्तोष चौधरी तेस्रो स्थान ल्याउन सफल भए ।
यसैगरी ८सय मिटरको फाइनल दौड प्रतियोगितामा छात्रातर्फ बालशिक्षा मावि हल्लानगरकी अनिशा योगी प्रथम, समयथान मावि खरेन्द्रपुरकी एलिना भण्डारी द्वितीय र राष्ट्रिय मावि चन्द्रौटाकी जमुना चौधरी तृतीय स्थान ल्याउन सफल भए । छात्रतर्फ भने प्रकाश मावि सुन्दरीडाँडाका श्यामबाबु थारु प्रथम, नेपाल आदर्शका मिलन महरा द्वितीय र रंगीलाल मावि सडवाका विपिन वि.क.ले तृतीय पुरस्कार हात पार्न सफल भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार फागुन १२ गते सोमबार छात्रछात्राका कबड्डी, १०० मिटरको दौड, लङजम्प, हाइजम्प, ट्रिपलजम्प र १००ह्४ को रिले दौडको हिट र फाइनल प्रतियोगिता हुनेछन् । यसका साथै छात्रतर्फ २सय मिटरको फाइनल दौड प्रतियोगिता हुने समेत आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ८ : २७ बजे