८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सरकारले नीजि क्षेत्रलाई चेपुवामा राख्योः पूर्वमन्त्री उपाध्याय



बुटवल ।
नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको प्रेसरका कारण सरकारले नीजि क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दातृनिकायहरुले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने बताउँदै मुलुकको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभयो ।
बुटवल उद्योग बाणिज्य संघको ६७ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सरकारले अन्तर्राष्ट्रिय दातृ निकायलाई खुसी बनाउनकै लागि करको दरमा बृद्धि गरेको र त्यसैको चपेटामा उद्योग व्यबसायी परेको आरोप लगाउनु भयो ।
राजश्व बढाउने नाममा नीजि क्षेत्रलाई चेपुवामा पारेर असुली गर्दा उद्योगी व्यबसायी धाराशायी हुँदै गएको बताउँदै उहाँले उद्योगी व्यबसायीका मन जितेर अंगाडी बढ्न सरकारलाई आग्रह गर्नुभयो । नेपालमा औद्योगिक उत्पादनकालागि प्रयाप्त सम्भावना रहेको बताउँदै लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
भारतकालागि पूर्वराजदुत समेत रहनु भएको पूर्वमन्त्री उपाध्यायले नेपाल भारतका बिच खुला सिमानाका कारण नेपालको मात्रै नभएर भारतकालागि समेत उत्तिकै समस्याको बिषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पानीको प्रवन्ध गर्न नसक्दा वरदान बन्न सक्ने पानीका स्रोतहरु अभिसापका रुपमा रहेको औंल्याउनु भयो । भारतसंगका दुई पक्षीय समस्या समाधानकालागि सरकारले कुटनीतिक चातुर्यता प्रस्तुत गर्नुपर्ने बताउँदै उहाँले सिमा क्षेत्रमा कस्टम पोईन्ट निर्माणको काम चाँडो गर्नुपर्ने भनाई राख्नुभयो ।
यसैबिच बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा संघका पूर्व अध्यक्ष महेशकुमार राजभण्डारीलाई सम्मान गरिएको छ । संघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा उहाँलाई पूर्वमन्त्री तथा भारतकालागि पूर्वराजदुत दीपकुमार उपाध्यायले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ७ : ०५ बजे