९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इटलीमा कोरोनाको त्रासः आपतकाल घोषणा, एकदर्जन सहर बन्द



एजेन्सी ।
युरोपमा कोरोनाभाइरस संक्रमित भेटिएपछि इटलीले यसको प्रकोप नियन्त्रण गर्न असाधारण उपाय अपनाउने भएको छ ।

कोरोना (कोभिड १९) का बिरामीको संख्या ७९ पुगेपछि शनिवार राती इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले आपत्कालीन योजना घोषणा गरेका बीबीसीले जनाएको छ ।

यो घोषणा दुईजना इटालीयन नागरिकको कोभिड १९ का कारण मृत्यु भएपछि भएको हो ।

योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन सहरहरूलाई क्वारन्टीनको अवस्थामा राखिएको छ । ती सहरका झन्डै ५० हजार मानिसलाई घरभित्रै रहन भनिएको छ ।

त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधि निलम्बन गरिएको छ । आइतवार त्यहाँ सीरी ए का केही फुटबल खेल हुने तालिका थियो ।

प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी ती नियमहरू पालना गराउन परिचालित गरिने बताइएको छ । इटलीका अधिकारीले कोरोनाभाइरस फैलिएको र यस्ता उपायविना नियन्त्रण गर्न नसकिने बताएका छन् ।

चीनको हुबे प्रान्तमा गत वर्ष शुरू भएको कोरोनाभाइरस २६ देशमा फैलिसकेको छ । यसबाट चीनबाहिर १४ सय भन्दा बढी संक्रमित पाइएका छन् । ११ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ११ : ०० बजे