९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश एक्स्पो उद्घाटन गर्दै मुख्यमन्त्रीले भनेः प्रदेश ५ ले सातवटै प्रदेशको अगुवाई गरेको छ



दाङ ।
दाङको बेलझुण्डीमा प्रदेश स्तरीय एक्स्पो सुरु भएको छ ।

प्रदेश नं. ५ सरकारको आयोजनामा शनिवारदेखि एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटनसत्रलाई सम्बोधन गर्दैै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं. ५ ले सातवटै प्रदेशको अगुवाई गरेको बताए । ‘ हामीले योजनातर्जुमा गरेर बजेट तर्जुमा गर्न सफल भएका छौं’ उनले भने‘ यो सातवटै प्रदेशमा हामीले मात्रै यो अभ्यास गरेका छौं ।’ प्रदेश नं. ५ लाई मिनी नेपालका रुपमा लिईएको भन्दै उक्त प्रदेशको विकासले नै समग्र मुलुकको विकासमा फड्को मार्ने उनको भनाई थियो ।

उनले प्रदेश सरकार गठन भएको दुई बर्षमा सातवटै प्रदेश भन्दै उत्कृष्ट काम गरेको समेत बताए । साथै प्रदेश नं. ५ का सवै स्थानीय तहरुले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको समेत बताए । ‘ प्रदेश नं. ५ ले सातवटै प्रदेशभन्दा बजेट परिचालनका हिसाबले उत्कृष्ट काम गरेको थियो’ उनले भने‘ प्रदेश नं. ५ भित्रका सबै स्थानीय तहले पनि उत्कृष्ट रुपमा बजेट परिचालन गरेका थिए ।’उनले प्रदेश एक्स्पोले प्रदेश नं. ५ को समृद्धिमा टेवा पु¥याउने समेत बताए ।

‘प्रदेश नं. ५ का १२ वटा जिल्ला मध्ये ६ वटा जिल्ला तराईमा, ५ वटा पहाडमा र एउटा हिमाली क्षेत्रमा पर्छन्’ उनले भने‘ यी सबै जिल्लाको विकासकालागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

आगामी दिनमा पनि यो गतिलाई थप बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका राख्ने उनको भनाई थियो । उनले प्रदेश नं. ५ को हालको अबस्था, आगामी दिनहरुमा गर्नुपर्ने काम, प्रदेशको कला संस्कृति संरक्षणमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले प्रदेश नं. ५ मा ४८ वटा कानुन निर्माण भईसकेको समेत बताए । उनले प्रदेश सरकारले कानुनी राज्यालाई स्थापीत गर्ने काम समेत गरेको बताए । प्रदेश नं. ५ को प्रशासनलाई व्यबस्थित बनाउनकालागि प्रशासनीयक फाउन्डेशन बनाउने समेत सफल भएको बताए । यसले प्रशासनीयक काम गर्न कुनै कठीनाई नहुँने समेत उनको भनाई थियो ।

प्रदेश नं. ५ का आन्तरिक तथा कानुनमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मन्त्री केसीले यो कार्यक्रमले जनता र सरकारलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले स्वागत मन्तब्य ब्यक्त गर्दै दाङ दक्षिण एसियाकै ठूलो उपत्यकाभित्र पर्ने भएकाले यहाँ हरेक हिसाबले उत्तम जिल्ला भएको बताए । एक्स्पोमा प्रदेश नं. ५ का सवै जिल्लाले आफ्नो पहिचान झल्किने झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । एक्स्पो तीन दिनसम्म चल्ने छ । प्रदेश नं. ५ ले स्थापना दिसवको अवसरमा १२ गतेसम्म यो कार्यक्रम गर्ने भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  ९ : ३२ बजे