९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

निसार अहमद खाँ सहित दर्जन बढी नेता समाजबादीमा प्रवेश



मायादेवी अनलाइन, पकडी ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ सहीत दर्जन बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा शनिबार भएको पार्टी प्रवेश कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँ सहीतका दर्जन बढी नेता तथा कार्यकर्ता समाजबादी पार्टीमा प्रवेश गरेका हुन् । पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा स्वतन्त्र रुपमा गाउँपालिकाको अध्यक्षमा चुनाव जित्नुभएका खाँ समाजबादी पार्टीमा प्रवेश गर्नुभएको छ ।

पार्टी प्रवेश पछि आमसभालाई सम्बोधन गर्दै अध्यक्ष खाँले मधेसी, मुस्लिम, अल्पसंङ्ख्यक, आदीबासी तथा जनजातीका हक र अधिकारको लागि लड्ने पार्टी समाजबादी ठानेर पार्टी प्रवेश गरेको बताउनुभयो । २०४७ सालदेखि आफु मधेसी जनताको हक, अधिकारका लागि लडिरहेको भन्दै यो लडाई जीवनभरी रहने उद्घोष गर्नुभयो । देशमा संविधान जारी भएपनि मधेसी जनताका माग पूरा नभएको भन्दै संविधान संशोधनसंगै समृद्धिको यात्रा तय गर्नका लागि समाजबादी पार्टी रोजेको बताउनुभयो ।

आफुलाई कांग्रेस, कम्युनिष्ट, राजपा लगायतका दलले पार्टीमा आउन आग्रह गरेपनि विचार नमिल्ने भएर नगएको दाबी गर्नुभयो । मधेसी जनताको उत्थानका निमित्त खोलिएका पार्टीहरु सत्तामा गएर भुल्ने गरेको प्रशंग कोट्याउँदै समाजबादीले त्यसो नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष खाँ संगै नेपाल जनता पार्टीका कपिलवस्तु अध्यक्ष सुनिल पाण्डेय, सचिव काशिनाथ पाठक, शुधोधन गाउँपालिका वडा नं. ६ का स्वतन्त्र वडा अध्यक्ष विजय यादव, नेता प्रेमनाथ तिवारी लगायत दर्जन बढी नेता तथा कार्यकर्ता समाजबादी पार्टीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६ शनिबार ००:००  ७ : १६ बजे