एजेन्सी । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बार्यन म्युनिख विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले एससी पाडेर्बोर्नलाई ३–२ ले पराजित गरेको हो ।
२५ औँ मिनेटमा सर्गेई ग्नाब्रीले गोल गर्दै बार्यन म्युनिखलाई सुरुवाति अग्रता दिलाए । ४४ औँ मिनेटमा डेसिन सर्बिनीले गोल गर्दै पाडेर्बोर्नलाई बराबरीमा ल्याए ।
बार्यनका लागि दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । उनले ७० र ८८ औँ मिनेटमा गोल गरेका हुन् । ७५ औँ मिनेटमा मिशेलले पाडेर्बोर्नका लागि गोल गरेका थिए ।
लेवान्डोस्कीले सबै प्रतियोगितामा गरेर पछिल्ला १० खेलमा ११ गोल गरेका छन् । उनको दुई गोलको सहयोगमा जित निकालेको बार्यनले अंक तालिकामा दोस्रो स्थानको आरबी लेइप्जिगसँग चार अंकको अग्रता कायम गरेको छ । बार्यनको २३ खेलबाट ४९ तथा आरबीको २२ खेलबाट ४५ अंक छ ।
प्रतिक्रिया