९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश ५ का चर्चित शिवमन्दिरमा हजारौं दर्शनार्थीले गरे पूजाराधना



मायादेवी अनलाइन, कपिलवस्तु ।
महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी शुक्रबार देशभर मनाइँएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गरिएको हो ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ ।
माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।
शिवरात्रिको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

प्रदेश ५ का शिवमिन्दरमा रौनक
शिवरात्रि पर्वको अवसरमा प्रदेश ५ का बहुचर्चित धार्मिकस्थल कपिलवस्तुको शिवगढी, कपिलवस्तु–दाङको सीमामा पर्ने धानखोला, पाल्पा–रुपन्देहीको सिमानामा पर्ने सिद्धबाबा, प्यूठानको स्वर्गद्धारी, बाँकेको बागेश्वरी, तौलिहवाको तौलेश्वरनाथ लगायतका शिवमन्दिहरुमा दर्शनार्थीको भीड लागेको छ । गएराती नै यी धार्मिक मन्दिरमा शिवको पूजाआराधना गर्न दर्शनार्थी पुगेका थिए । आज विहान देखि परेको सिमसिमे बर्षाले भने जनजीवनमा कठिनाई उत्पन्न गराएको छ । पानीसंगै चिसो बढ्दा शिवरात्रिको पूजाआजा गर्न कठिनाई भएको हो ।

महाशिवरात्रि पर्वको अवसरमा नेपालको दोश्रो पशुपतिनाथ मानिने कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा शुक्रबार बिहानैदेखि हजारौँको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।
भगवान बुद्धको लुम्विनीमा जन्म भएपछि राजा शुद्धोधन र महारानी मायादेवी सबभन्दा पहिला यही शिवलिङ्गको दर्शन गरेको एक पुस्तिकामा उल्लेख छ । यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्वको रुपमा मनाइने शिवरात्रिको दिन आज तौलिहवा वजारमा ठूलो मेला समेत लागेको छ ।
विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दू धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । सम्भवत एशियाकै शिवमन्दिरहरुमा रहेका शिवलिंगमध्ये सबैभन्दा ठुलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको विश्वास गरिन्छ ।

जिल्लाको ऐतिहासिक, पौराणिक शिवगढी मन्दिर, ऐतिहासिक धानखोला मन्दिर र उमरी शिव गुफा मन्दिर परिसरमा हरेक वर्षझैं यस बर्ष पनि हजारौं दर्शनार्थी पुगेका छन् । महेन्द्र राजमार्ग बन्ने क्रममा २०२४ सालमा धानखोला मन्दिरको स्थापना भएको हो ।
कपिलवस्तु, दाङ्ग र अर्घाखाँची जिल्लाको संगमस्थल साथै उत्तरतर्फ बग्ने धानखोलाले यस स्थानमा अलौकिक शक्ति भएको स्थानीयको जनविश्वास रहेको छ । यस क्षेत्रमा विभिन्न गुफा तथा मन्दिरहरुले प्रचुरमात्रामा पर्यटकीय सम्भावना बोकेको देखिन्छ । शिवगढी मन्दिर तराईबाट पहाडको चुचुरोमा अवस्थित छ । झण्डै ५ घण्टा हिडेर पुग्नसकिने शिवगढी नेपालकै चर्चित शिवमन्दिर हो ।

बाँकेमा बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ ।
अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ । यस वर्ष शिवरात्रिमा बागेश्वरीमा भोलेबाबा देखिएनन् । यस वर्ष शिवरात्रिमा भाङ, धतुरो र गाँजा खान र बेच्न स्थानीय प्रशासनले कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताउनुभयो ।
संसारभर पाइने महादेवको मूर्तिमध्ये जुँगा भएको मूर्ति यहीँ मात्र छ । बागेश्वरी मन्दिर यस क्षेत्रकै ठूलो र प्रसिद्ध मन्दिर हो । यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको भन्ने जनविश्वास छ ।
एउटा ठूलो तलाउको किनारामा रहेको बागेश्वरी मन्दिर नयाँ मुलुकका रूपमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको इतिहास छ ।

यसैबीच प्रत्येक बर्षको महाशिवरात्रीको अवसर पारी लाग्ने हथौसा मेला शुक्रबारदेखि शुरु भएको छ । शिवरात्रीको अवसरमा परापूर्व कालदेखि हथौसा मेला लाग्दै आएको छ । यहाँ लाग्ने हथौसा महाशिवरात्री मेला लुम्बिनी अञ्चलमै चर्चित छ ।
एक हप्तासम्म संचालन हुने मेलामा नेपाल तथा भारतका कृषिसंग सम्वन्धित औजार उपकरण बिउबिजन प्रविधि आदिको खरीद बिक्री हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  ७ : २९ बजे