९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शान्ताकुञ्ज मधुवनधाममा महायज्ञः वराहाकुण्ड निर्माणकर्ता खत्री सम्मानित



बाबुराम रायमाझी, वाणगंगा ।
शान्ताकुञ्ज मधुवन धाममा आकर्षणको रुपमा रहेको वराहाकुण्ड निर्माणकर्तालाई सम्मान गरिएको छ । वाणगंगा नगरपालिका ९ भलवाड निवासी युवा समाजसेवी रोम बहादुर खत्रीलाई एक समारोहबीच सम्मान गरिएको हो ।
मधुवन धाममा आयोजित ज्ञान महायज्ञको अवसरमा वराहाकुण्ड निर्माणमा करिब ६ लाख ११ हजार एक सय १ रुपैया आर्थिक सहयोग गरेवापत समाजसेवी रोम बहादुर खत्री र धर्मपत्नी लक्ष्मी खत्रीलाई मुल आयोजक समितिले सम्मान गरेको हो ।
खत्रीले स्वर्गीय पिता ठगबहादुर खत्रीको स्मृतिमा वराहाकुण्डको पोखरी निर्माण र मूर्तीमा लगानी गर्नुभएको हो । विभिन्न ठाउँको अवलोकन गर्दा आकर्षण पोखरी बनाउने सोच आएर वराहाकुण्ड निर्माणको लागि अयोध्या पुगेर मूर्ति ल्याएको खत्रीले जानकारी दिनुभयो ।
२ वर्षमा सम्पन्न गरिएको बराहाकुण्ड (पोखरी) मधुवन धाममा आकर्षण बढेको छ । आजै मधुवन धाममा शिलन्यास गरिएको शिवालय मन्दिर निर्माणमा २ लाख सहयोग गर्ने खत्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले मधुवन धाममै एक लाख ५० हजार गायत्री मन्दिरका लागि पनि सहयोग गरेको बताउदै वाणगंगा ९ स्थित कपिलधामको प्रवेश द्धार निर्माणको लागि सहयोग गर्नुभएको थियो । यसैैबीच महायज्ञका अवसरमा मधुवन धाममा सहयोग गर्ने विभिन्न सहयोगी व्यक्तिलाई कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
शान्ताकुञ्ज मधुवनधामको प्रांगणमा गत फागुन ३ गतेदेखि १० गते सम्म संचालित हुने श्रीमद्भागवत ज्ञान महायज्ञ तथा पूजा परायणमा दर्शालु भक्तजनको भिडभाड बढेको छ । ज्ञान महायज्ञमा प्रखर कथा बाचक युवा सन्त श्री निवासाचार्यले गर्नुभएको छ ।
शिवरात्रीको अवसरमा विभिन्न स्थानबाट कथा श्रवण गर्न दर्शालु भक्तजनहरुको घुँईचो बढेको शान्ताकुञ्ज मधुवन धामका अध्यक्ष चुरामणी अर्यालले बताउनुभयो । महायज्ञमा आउन जानको लागि विभिन्न सहयोगी व्यक्तिहरुबाट यातायातको व्यवस्था समेत गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  ६ : ५५ बजे