९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश



प्यूठान ।
मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला सदस्य तथा पार्टीनिकट देशभक्त गणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष हिमबहादुर केसीसहित एक दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
शुक्रबार प्यूठान नगरपालिका ९ मरन्ठानामा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनभेटघाट कार्यक्रममा केन्द्रीय सदस्य कृष्णध्वज खड्काले पार्टी प्रवेश गराएका हुन् । प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला सदस्य राजेन्द्र बहादुर केसी, कृष्ण रोका क्षेत्र, विजय केसी, सीता केसी, मिना गिरी, संगिन पोख्रेल, राष्ट्रिय जनमोर्चाका शिव बहादुर केएमलगायत रहेका छन् ।
पार्टी प्रवेश गराउँदै प्रदेश ५ प्रदेशसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य कृष्णध्वज खड्काले देशमा परिवर्तनकारी राजनीतिक आन्दोलनहरू सकिएको भन्दै आर्थिक समृद्धिको दिशामा पार्टी र सरकार अगाडि बढिरहेको बताए । राजनीतिक आन्दोलन समाप्ती पछि अवको युग विकास र संमृद्धिको युगमा प्रवेश गरेको बताउँदै समृद्धि हासिल गर्नको लागि नेकपाले नेतृत्व गरिरहेको जिकिरि गरे ।
भ्रष्टाचार नियन्त्रण, अनियमितताका विषयमा कम्युनिष्ट सरकार सधै उच्च नैतिकताका साथ लागि परेको उनले दावि गरे । अफताव आलम र गच्छ्दारका विषयमा कांग्रेसले अपराधी र भ्रष्टाचारीलाई बचाउन सडक आन्दोलन गरी निचता प्रवृत्ति उदांगो पारेको र नेपाल कम्युनिष्ट पार्टी निकटका जोकोहीलाई पनि आरोपहरू आउँदा नैतिक रूपमै पार्टीको निर्देशनमा निष्पक्ष छानविनमा सघाउ पुराउने वातावरणको सिर्जना गरेको नेता खड्काले प्रष्टाए ।
पार्टी प्रवेश गर्नेको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य तथा देशभक्त गणतान्त्रिक मोर्चाबाट आएका हिम बहादुर केसीले मुलुकुको आर्थिक समृद्धि विकासमा नेकपाको विकल्प नदेखेका कारण आफू नेकपामा प्रवेश बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  ५ : ५१ बजे