९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महाशिवरात्रिः तौलेश्वर महादेवको मन्दिरमा दर्शनार्थीको घुइँचो



मायादेवी अनलाइन, तौलिहवा ।
महाशिवरात्रि पर्वको अवसरमा नेपालको दोश्रो पशुपतिनाथ मानिने कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर महादेवको मन्दिरमा शुक्रबार बिहानैदेखि हजारौँको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

भगवान बुद्धको लुम्विनीमा जन्म भएपछि राजा शुद्धोधन र महारानी मायादेवी सबभन्दा पहिला यही शिवलिङ्गको दर्शन गरेको एक पुस्तिकामा उल्लेख छ । यस क्षेत्रका हिन्दु धर्मावलम्वीहरुको ठूलो पर्वको रुपमा मनाइने शिवरात्रिको दिन आज तौलिहवा वजारमा ठूलो मेला समेत लागेको छ ।

विक्रम सम्वत् १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दू धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो । सम्भवत एशियाकै शिवमन्दिरहरुमा रहेका शिवलिंगमध्ये सबैभन्दा ठुलो शिवलिंग यसै तौलेश्वर मन्दिरमा रहको विश्वास गरिन्छ ।

शिवरात्रीका दिनमा भगवानको कथा सुन्नाले आाफ्नो मनोकामना पुरा हुने विश्वासका साथ मन्दिर वाहिर वरपर सपरिवार कथा सुन्ने भक्तजनहरुको समेत भीड लागेको छ ।

हरेक वर्ष शिवरात्रिको अवसरमा कपिलवस्तु, रुपन्देही, दाङ, अर्घाखाँची जिल्लाका विभिन्न भुभागहरुका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र बलरामपुर जिल्लाबाट समेत हजारौँ दर्शनार्थीहरु यहाँको शिवलिंगमा पूजा गर्न तथा मेला गर्न आउने गरेका छन् ।

शिवरात्रिमा भक्तजनहरुलाई व्यस्थित ढंगले दर्शनको व्यवस्था मिलाउन एवं सुरक्षा प्रदान गर्न मन्दिर वरपर बिहानैदेखि नेपाल प्रहरी सशस्त्र प्रहरीहरु खटिएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  ४ : ३० बजे