९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महाशिवरात्रिमा राष्ट्रिय सभा सदस्य घिमिरेको वचनः ‘शिर झुकाउने काम गर्ने छैन’



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कहिल्यै पनि शिर झुकाउने काम नगर्ने बताउनु भएको छ । महाशिवरात्री पर्वको अवसरमा ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय बाणगंगा चारनम्बरले आयोजना गरेको शिवरात्रिको ८४ औँ जन्मोत्सव कार्यक्रममा सहभागी हुनुभएका घिमिरेले संक्षिप्त मन्तव्य राख्दै सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, “मैले आफ्नो क्षेत्रमा अहिलेसम्म गर्दै आएको जिम्मेवारी, पुरा गरेका जिम्मेवारी र थप जिम्मेवारी सबै इमान्दार चरित्रका प्रतिफल हुन् । आफ्नो, समाज र राष्ट्रको शिर झुक्ने र झुकाउने काम कहिल्यै कदापी गर्ने छैन ।” उहाँले थप्नुभयो, “कहिल्यै कतै पनि मैले गरेको कामहरुको बारेमा तपाईलाई नकारात्मक टिप्पणी गर्न पर्ने अवस्था आउन दिने छैन । म इमान्दारपूर्वक मेरो राष्ट्रिय सभाको कार्यकाल पुरा गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।”

चारनम्बरमा रहेको इश्वरीय विश्वविद्यालय, गीता दिदी र यसका सदस्यले यस क्षेत्रमा मानवता सिर्जन गर्न र मानिसलाई परोपकारी बनाउन धेरै भूमिका खेल्नुभएको भूमिकाको प्रसंसा गर्दै उहाँले सबै धर्महरुको सार भनेकै इमान्दारिता भएको बताउनु भयो । ‘मलाई धर्मकर्म र अध्यात्मको बारेमा धेरै कुरा त थाहा छैन तर यत्ति भन्दछु, धर्मले पनि यही भन्दछ कि इमान्दार बन । इमान्दार गर । सच्चा कमाई गरी खाऊ’ उहाँले भन्नुभयो ।’

यसैबीच विद्यालयमा भगवान शिवको ८४ औँ जन्मजयन्ति केक काटेर भव्य रुपमा मनाइएको छ । ब्रह्मकुमारी गीता दिदीले केक काटेर शिवको महिमा, मानव जीव र प्रकृतिको बारेमा सारतत्व प्रकाश पार्नुभएको थियो । यस्तै एकता र विश्व शान्तिको सन्देश दिन विद्यालय प्राङ्गणमा झण्डोत्तोलन पनि गरिएको थियो । कार्यक्रममा शिवको पूजाआराधनामा समाजमा चलेको विधि र बुझ्नु पर्ने सत्य कुराको बारेमा ब्रह्मकुमारी कृष्ण दिदीले प्रकाश पार्नुभएको थियो ।

इश्वरीय विश्व विद्यालय शिक्षाका अभियान्ता, बाणगंगा नगरका शिक्षा अधिकृत भक्ति पाण्डेको संचालनमा सम्पन्न कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा सयौँ भक्तजनको सहभागिता रहेको थियो भने विश्व विद्यालयको विशेष कोर्ष लिएर निश्चित मापदण्ड पुरा गरेका अभियान्ताहरुलाई विश्व विद्यालयको ब्याच पनि वितरण गरिएको थियो । कार्यक्रमकै अवसरमा बिभिन्न अतिथिहरुलाई सम्मान पनि गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  ११ : १३ बजे