९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगा नगरपालिकाले बनायो ४४ कानुन



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले ४४ कानुन निर्माण गरेको छ । देश संघीयतामा प्रवेश गरेसंगै स्थानीय सरकारको रुपमा रहेको वाणगंगाले अढाई बर्षको अवधिमा ४४ कानुन निर्माण गरेको हो ।

नगरपालिकाका नगर उप–प्रमुख चक्रपाणी अर्यालले अढाई बर्षको अवधिमा ऐन, नियमावली, कार्यविधि, विधेयक गरी ४४ कानुन निर्माण गरेको जानकारी दिनुभयो । नगरपालिकाले बनाएका कानुनलाई नगरपालिकाले किताबमा समावेश गरेको छ ।

नगरको छैठौं नगरसभाबाट नगरपालिकाले १३ कानुन पारित गरेर कार्यान्वयनको चरणमा लगेको छ । अबका केही दिनमै नगरको राजपत्रमा प्रकाशित गरेपछि नयाँ कानुन कायान्वयनमा ल्याइने उप–प्रमुख अर्यालले बताउनुभयो ।

नगरले यो हिउँदे सभाबाट वाणगंगा नगरपालिकाको मेलमिलाप सञ्चालन कार्यविधि, प्राइभेट फर्म दर्ता सम्बन्धि विधेयक, वाणगंगा नगरपालिकाको एम्बुलेन्स सञ्चालन निर्देशिका, अटोरिक्सा र रिक्सा सञ्चालन कार्यविधि, अपाङ्गता भएका व्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि, जेष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका, वाणगंगा नगरपालिका भित्र संघ संस्था दर्ता कार्यविधि, स्थानीय समूह गठन तथा परिचालन कार्यविधि, सार्वजनिक खरिद नियमावली लगायतका कानुन निर्माण गरिएको नगर उप–प्रमुख अर्यालले बताउनुभयो ।

विगतमा बनेका ३१ कानुन र हिउँदे सभाबाट पारित भएका १३ कानुन गरी ४४ कानुनको कार्यान्वयनमा नगरपालिका लाग्ने नगर प्रमुख मंगल प्रसाद थारुले बताउनुभयो । बनेका कानुनको अक्षरक्ष पालना आवश्यक रहेको भन्दै यो कार्यान्वयनका लागि सबैको सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले आवश्यक कानुन निर्माणसंगै नगरपालिकाबाट हुने काम अब गर्न सहज हुने बताउनुभयो । कतिपय कानुनहरु स्थानीय सरकारले बनाउन सक्ने र कतिपय कानुन तीन सरकारका साझा भएकोले सबै कानुन नेपालको मूल कानुन संविधानसंग नबाझिदिने गरी निर्माण गरिएको बताउनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  १० : २४ बजे