९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सरकारले हाकिम र लेखा अधिकृत नपठाउँदा कृष्णनगरमा कामकाज गर्न अप्ठ्यारो



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा एक महिना देखि कार्यालय प्रमुख र लेखा अधिकृत छैनन् । केन्द्र सरकारले समयमै कार्यालय प्रमुख र लेखा अधिकृत नपठाईदिदा कामकाज गर्न समस्या भएको हो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारी र लेखा अधिकृत सरुवा भएको एक महिना हुँदा नयाँ को आउने हुन् अझै अत्तोपत्तो छैन् । नगरपालिकामा काम विशेषले आउने सर्वसाधारणले हाकिम नुहँदा दुःख पाएको भन्दै नगर प्रमुख रजत प्रताप शाहले तत्काल नयाँ हाकिम पठाइदिन सरकारसंग माग गर्नुभएको छ ।
विहीबार जिल्ला प्रशासन कार्यालय तौलिहवा पुगेर नयाँ हाकिम र लेखा अधिकृतको माग गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेललाई नगर प्रमुख शाहले ज्ञापनपत्र बुझाउनुभएको हो । १२ वटै वडाका वडाध्यक्षसंग प्रशासन पुग्नुभएका नगर प्रमुख शाहले तत्काल नयाँ हाकिम र लेखा अधिकृत पठाउने पहल गर्न माग गर्नुभयो ।
‘यो समय विकास निर्माणको तीव्र समय हो । नयाँ योजनाको सम्झौता, सकिएका योजनाको भुक्तानी, चालु योजनाको अनुमगन गर्ने समय हो, शाहले मायादेवीसंग भन्नुभयो, “कार्यालय प्रमुख र लेखा अधिकृत नहुँदा कामै हुन सकेको छैन् । यस्तै हुने हो भने नगरले चालु आवमा लिएका योजना तोकिएको समयमा सक्न गाह्रो हुन्छ । जनताको काम गर्न सक्दैन ।”
कार्यालयका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा केही दिन यता कार्यालय सुनसान जस्तै बनेको छ । चालु आवमा नगरका भौतिक पूर्वाधार सम्बन्धि योजनाको सम्झौता गर्न नसकिएको योजना शाखा प्रमुख प्रदीप चौधरीले बताउनुभयो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६ शुक्रबार ००:००  ९ : ४८ बजे