९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश नं. ५ को नाम मगरात राख्न माग गर्दै आन्दोलनको घोषणा



बुटवल ।
मगरात संघर्ष समितिले प्रदेश नं. ५ को नामकरण मगरात हुनुपर्ने माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
नेपाल मगर संघ र संयुक्त मगर मञ्च नेपालको फागुन ६ गते बसेको संयुक्त बैठकले प्रदेश नं ५ को नाम मगरात हुनुपर्ने भन्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल मगर संघ प्रदेश अध्यक्ष बिमल सारु मगरले १२ वटै जिल्लामा लक्षित गरेर आन्दोलनका कार्यक्रमहरू घोषणा गरिएको बताइन् । पहिलो चरणमा फागुन मसान्तसम्म आन्दोलन गर्ने र माग सुनुवाइ नभए दोस्रो चरणमा अझ बढी सशक्त आन्दोलन गर्ने उनले बताइन् ।
नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नवीन रोका मगरले पहिलो चरणमा शान्तिपूर्ण आन्दोलन गर्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताए । उनले अनिश्चितकालीन बन्दसहितका दोस्रो चरणमा आन्दोलन गरिने बताए ।
मुख्यमन्त्री, सभामुख, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारीलाई स्मरण पत्र बुझाउने, १२ वटै जिल्लामा मगरात भित्तेलेखन गर्ने कार्यक्रम संघर्ष समितिले तय गरेको छ ।
त्यस्तै, १ सय ९ वटै स्थानीय तहमा अन्तरक्रिया, सबै जिल्लामा मोटरसाइकल ¥याली, सांस्कृतिक झाँकीसहितका कार्यक्रम गर्ने बताइएको छ ।
त्यस्तै, संघर्ष समितिले प्रदेश नं. ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने गरी राख्न मागसमेत गरेको छ । मगरसहितका मगरातले यसअघि साढे ११ लाख हस्ताक्षर मुख्यमन्त्रीलाई बुझाएका थिए ।
समितिले मगरातको विषय मगरसँग मात्र सरोकार राख्ने विषय नभएको भन्दै सबै जातजातिले यसमा सरोकार राख्नुपर्ने बताएको छ ।
केन्द्रीय अध्यक्ष नवीन रोकाले मगर प्रदेश सांसदहरूले निर्वाचनमा गरेको प्रतिवद्धता नभुल्नसमेत सचेत गराए । उनले मगर सांसदहरूले मगरात नाम राख्न नेतृत्व गर्नुपर्ने बताउँदै सांसदहरूले बोल्नुपर्ने बताए ।
उनले नेवार रञ्जनालिपिअनुसार नेपालको नाम रहन गएको भन्दै प्रदेशको नाम जातीयता पहिचानकै आधारमा मगरात हुनुपर्ने बताए । मगरातसहितको लुम्बिनी वा बुद्धभूमि, रिडि जे राखे पनि मगरात भने नाम हुनुपर्ने उनले बताए । उनले मगरको सभ्यता र इतिहासलाई जोगाइराख्न कुनै पनि मूल्य आफूहरूले चुकाउनेसमेत उनले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : २१ बजे