९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना भाइरसको त्रास, दक्षिण कोरियामा २५ लाख मानिसलाई घरभित्रै मास्क लगाएर बस्न आग्रह



काठमाडौं ।
दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जीनले नगर क्षेत्रमा प्राणघातक कोरोना भाइरसको संक्रमण देखिन थालेको भन्दै बिहीबार २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन् । दक्षिणपूर्वमा रहेको डाइगु नगर क्षेत्रमा बिहीबार मात्र थप ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो । टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको पत्रकार सम्मेलनमा मेयर क्वोनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न आग्रह गरे ।
उनले कोरोनाविरुद्ध लड्न केन्द्र सरकारसँग आग्रह गरेका छन् । कोरियाली संक्रमक रोग नियन्त्रण एवं रोकथाम केन्द्र (केसिडिसी)ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ । उक्त चर्चमा एक जना कोरोना संक्रमित व्यक्ति पनि सहभागी भएका थिए । केसिडिसीका अधिकारीका अनुसार विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा कोरोना संक्रमण देखिएको थियो । दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मुन जाए–इनले कोरोना जीवाणुको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका छन् । कोरोना जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडकहरू सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । रासस

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : २० बजे