९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इंग्लिस प्रिमियर लिगः सिटीको सहज जित



एजेन्सी ।
केभिन डि ब्रुयनले एक गोल र एक असिस्ट दिएपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । सिटीले रेलिगेसन जोनमा रहेको वेस्टह्यामलाई २–० ले पराजित गरेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति सिटीको सहज जितमा रोड्री र केभिन डि ब्रुयनले गोल गरे । दुई गोल पहिलो र दोस्रो हाफमा सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै वेस्ट ह्यामलाई दवावमा राखेको सिटीले खेलको ३०औं मिनेटमा अग्रता लिन सफल भएको थियो । केभिन डि ब्रुयनको पासमा रोड्रीले गोल गर्दै सिटीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

६२औं मिनेटमा बर्नाडो सिल्भाको पासमा अघिल्लो गोलमा अवसर सिर्जना गरेका केभिन डि ब्रुयनले गोल गर्दै सिटीको जित पक्का गरे । जितसँगै सिटीले लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी कम गर्दा तेस्रो स्थानको लेस्टर सिटीसँगको अंक दुरी बढाएको छ । शीर्ष स्थानको लिभरपुलको ७६ अंक छ । सिटीको ५४ अंक छ । लेस्टर ५० अंक जोडेर चौथो स्थानमा छ । रेलिगेशन जोनमा रहेको वेस्ट ह्यामको २४ अंक छ ।

आर्थिक नियमावली उल्लङ्घन गरेका कारण युरोपेली फुटबल महासंघको प्रतिबन्ध सुनाएपछिको पहिलो खेलमा सिटीले जित निकालेको हो । युरोपमा प्रतिबन्धसँगै सिटीले दुई वर्ष च्याम्पियन्स लिग लगायतका युरोपेली प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । सिटीले निर्णयविरुद्व कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्समा अपिल गर्ने बताएको छ । वेस्ट ह्यामविरुद्ध खेलका दौरान सिटीका समर्थकले यूईएफएविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ९ : ०० बजे